राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोडको ऋणपत्र बिक्रीमा, कति पाइन्छ ब्याज ?

0
Shares

राष्ट्रिय वाणिज्य बैंकले ८.५ प्रतिशत व्याजदरको अढाई अर्ब रुपैंयाको डिबेञ्चर मंगलबारदेखि निष्काशन गरेको छ । ८.५ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३ नाम दिइएको ऋणपत्र ६ वर्ष अवधिको हो ।
 
१ हजार रुपैंया प्रतिकित्ताको दरमा २ अर्ब ५० करोड रुपैंया बराबरका २५ लाख कित्ता निष्काशन हुने ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।
 
२५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक “एनआईबिएल एस क्यापिटल लिमिटेड” र निष्काशनकर्ता कम्पनी “राष्ट्रिय वाणिज्य बैंक लिमिटेड”को आपसी सहमतिमा बिक्री वितरण गरिने छ । साथै, सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्काशन गरेको हो ।
 
छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
 
ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
 
बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने केयर एनपी ए प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्विकृत भएको विवरणपत्र बैंकको वेबसाइटमा समेत राखिएको छ ।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।