निषेधाज्ञा अवधिमा २०३ व्यापारिक फर्ममाथि अनुगमन, ९७ लाई १४ लाख जरिवाना

0
Shares

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निषेधाज्ञा अवधिमा २०३ वटा व्यापारिक फर्मको बजार अनुगमन गर्दा ९७ व्यापारिक फर्म कारवाहीमा परेका छन् । ती फर्मलाई १४ लाख रुपैयाँ जरिवाना गरिएको छ भने ३० हजार मूल्य बराबरको खाद्यान्न नष्ट गरिएको छ ।

विभागले वैशाख १६ गतेदेखि जेठ ३१ गतेसम्मको समयमा २०३ वटा व्यापारिक फर्मलाई अनुगमन गरी ९७ वटा फर्मलाई जरिवाना गरेको छ । ९७ फर्मलाई विभागले १३ लाख ९६ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार एक फर्मको भने कारोबार रोक्का गरेको भएको छ ।

निषेधाज्ञाको अवधिमा विभागले विशेषगरी खाद्यान्न र स्वास्थलाई प्राथकितामा राखेर अनुगमन गरेको जनाएको छ । उक्त अवधिमा विभागले ३० हजार १५० मूल्य बराबरको म्याद समाप्त भएका खाद्यान्न तथा वस्तु नष्ट गरेको छ ।

११ महिनामा २८ सय बढी फर्मको अनुगमन, दुई करोड २८ लाख बढी जरिवाना

विभागले ११ महिना अर्थात चालु आवको श्रावण महिनादेखि जेठ महिनासम्ममा २८ सय २४ वटा व्यापारिक फर्मलाई अनुगमन गरेको जनाएको छ । यस अवधिमा विभागले ९९० फर्मलाई जरिवाना गरेको छ । विभागले उपलब्ध गराएको तथ्याकं अनुसार ९९० फर्मलाई २ करोड २८ लाख ८७ हजार रुपैयाँ जरिवाना गरेको छ ।

अनुगमन गरिएका फर्ममध्ये विभागले ३५ वटा फर्मलाई कारोबार रोक्का गरेको छ ।

विभागले यस अवधिमा ३ करोड ७३ लाख ८४ हजार ७०१ रुपैयाँ मूल्य बराबरको म्याद समाप्त भएका खाद्यान्न तथा वस्तु नष्ट गरेको छ । विभागका अनुसार अन्य कारबाही गरिएको फर्मको संख्या १ हजार ६६ रहेको छ ।

चालु आवको साउनदेखि जेठसम्ममा मोरङ, पर्सा, रुपन्देही, बाँके र कैलाली शाखाहरुमार्फत १६ सय ९ वटा फर्ममा अनुगमन भएको छ । अनुगमन गरेकोमध्ये २ सय ६९ वटा फर्मलाई ऐन विपरित कारोबार गरेकाले ७४ लाख ४६ हजार ५ सय रुपैयाँ जरिवाना गरेको विभागले जनाएको छ ।

विभागको पर्सा कर्यालयले चालु आवको जेठ मसान्तसम्ममा ३ सय ५३ फर्ममा अनुगमन गरी १ सय ४४ जना फर्मलाई जरिवाना गरेका छ । विभागका अनुसार पर्सा कार्यालयले ४३ लाख ६३ हजार जरिवाना गरेको छ ।

मोरङ कार्यालयले चालु आवमा १ सय १२ वटा फर्म अनुगमन गरी ४० वटा व्यापारिक फर्मलाई जरिवाना गरी कारबाहीको दायरामा ल्याएको विभागको तथ्याङ्क छ ।

रुपन्देही कार्यालयले १ सय ६८ फर्म तथा उद्योग अनुगमन गरी १२ वटालाई जरिवाना गरेको छ । जसमा कार्यालयले १ लाख ४० हजार जरिवाना लिएको छ ।  बाँके कार्यालयले ५ सय ५ फर्म तथा कम्पनीमा अनुगमन गरी २२ व्यवसायीक फर्मलाई ३ लाख ८३ हजार ५ सय रुपैयाँ जरिवाना गरेको छ । भने कैलाली कार्यालयले ४ सय ७१ बजार अनुमान गरी ५१ वटा व्यवसायीलाई जरिवाना गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।