.jpg)
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।
नर्भिक अस्पतालमा उपचाररत रहेका खनाल नर्भिकबाट डिस्चार्ज भएर साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट नयाँदिल्ली गएका हुन् ।
उनको परिवारबाट थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लैजाने निर्णय भएपछि अस्पतालले उनलाई डिस्चार्ज दिएको हो । नर्भिक अस्पतालमा रहँदा उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।
लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएपछि उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।
पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएका उनमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन । मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो ।
दिल्ली उड्नुअघि पनि उनमा निरन्तर खोकी लागिरहेको थियो भने शरीर समेत शिथिल देखिन्थ्यो, उनी कामिरहेका थिए ।
चिकित्सकहरुले कोभिड हुँदा उनलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् । मूलत नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताएका छन् ।
डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
