जीवन विकास लघुवित्तको साधारण शेयरमा नयाँ रेकर्ड, साढे १८ लाख आवेदन


साधारण शेयरमा आवेदन गर्नेहरुको संख्या बढ्ने क्रममा जीवन विकास लघुवित्तले नयाँ रेकर्ड कायम गर्ने भएको छ । निष्काशन सुरु भएको तीन कार्य दिनमा नै लघुवित्तको शेयरमा १८ लाख ४० हजार ३७ वटा आवेदन परेको छ । मंगलबार शेयर निष्काशन बन्द हुने लघुवित्तको शेयरमा अझै लाखौंको संख्यामा आवेदन पर्ने देखिन्छ ।

आइतबार साँझसम्ममा १५ लाख बढीले आवेदन गरेकोमा सोमबार मात्र झण्डै साढे ३ लाख आवेदक थपिएका हुन् ।

केन्द्रीय निक्षेप प्रणालीका अनुसार उल्लेखित आवेदकले लघुवित्तको २ करोड ७८ लाख २६ हजार ३५० कित्ता शेयर माग गरेका छन् । यो तथ्यांक सोमबार साँझ ५ बजेसम्मको हो ।

लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यको दरमा १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरिरहेको छ । जस मध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी शेयर सर्वसाधारणमा निष्काशन भएको हो । जस अनुसार सर्वसाधारणका लागि १८ लाख ४८ हजार १५ कित्ता शेयर निष्काशन भएको हो ।

लघुवित्तको शेयर असार १५ गतेसम्म निष्काशन हुनेछ । मेरो शेयरका साथै आस्वा सदस्य बैंक वित्तीय संस्थाबाट लघुवित्तको शेयरमा आवेदन दिन सकिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।