जीवन विकासको आईपीओमा आवेदक पौने २१ लाख नाघ्यो, हालसम्मकै उच्च आवेदन

0
Shares

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओमा मंगलबार बेलुकासम्ममा आवेदन गर्ने लगानीकर्ताको संख्या पौने २१ लाख नाघेको छ ।
कम्पनीको आईपीओमा २० लाख ८४ हजार ७६२ जना आवेदकबाट ३ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर माग माग भएको हो ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार लघुवित्तको शेयरमा ३ अर्ब १२ करोड ६६ लाख २६ हजार २०० रुपैयाँ रुपैयाँको ३ करोड १२ लाख ६६ हजार २६२ कित्ताको माग भएको छ ।

कम्पनीले सर्वसाधारणबाट १८ करोड ४८ लाख १५ हजार रुपैयाँ बराबरको शेयर माग गरेकोमा १६.९२ गुणा बढी माग परेको छ । लघुवित्तको आईपीओमा प्राप्त आवेदन संख्या हालसम्मकै नयाँ रेकर्ड हो । यसअघि निष्काशनमा आएका आईपीओमा साढे १८ लाखसम्म आवेदन परेको रेकर्ड थियो ।

हालसम्मको आवेदनका आधारमा नै कम्पनीको आईपीओ ९ प्रतिशतभन्दा कमले मात्र पाउने देखिन्छ । मंगलबार साँझसम्मको विवरण अनुसार ८.८६ प्रतिशत आवेदकले शेयर पाउने देखिएको छ । बैंक तथा वित्तीय संस्थाको सि-आश्वाबाट थप हुने आवेदनले शेयर पाउने तथ्याङ्क केही घटाउनेछ ।

कम्पनीको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गर्नेछन् भने यीनै आवेदकमध्ये भाग्यशाली ५ जनाले थप १ कित्ताका दरले ११ कित्ता शेयर पाउनेछन् ।

लघुवित्तले असार ११ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्दछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।