बैंकलाई ब्रोकर लाइसेन्स दिने पहल गरिदिन बैंकर्स संघले गर्यो राष्ट्र बैंकलाई आग्रह

0
Shares

नेपाल बैकर्स संघले वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने पहल गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेको छ । आगामी मौद्रिक नीतिका लागि सुझाब पेश गर्दै संघले ब्रोकर लाइसेन्स दिलाउनका लागि राष्ट्र बैंकबाट पहल भएमा वित्त बजारलाई सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार सोका लागि केही बैंकहरुले सहायक कम्पनीहरु समेत खोली सकेको अवस्था रहेको पनि संघले जनाएको छ । बैंकका ती सहायक कम्पनीहरुले देशका कुना कुनामा छरिएका वाणिज्य बैंकहरुका शाखा मार्फत् ग्रामिण क्षेत्रमा पनि पूँजी बजारलाई विस्तार गर्न सक्ने संघको भनाई छ । तर, वाणिज्य बैंकका सहायक कम्पनीले हाल नियमानुसार निवेदन दिएर पनि ब्रोकर लाइसेन्स पाउन नसकेको गुनासो छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र बजारमा खरिद गरेको एक वर्ष व्यतीत भएका (अल्पकालिन बाहेक) शेयर वा डिबेञ्चर बिना बन्देज बिक्री गर्न पाउने व्यवस्था गर्न पनि आग्रह गरेको छ । एक वर्ष व्यतीत भएका शेयर वा डिबेञ्चरको लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउने विद्यमान व्यवस्थाबाट कुनै निश्चित कम्पनीको वित्तीय अवस्थाका कारण सो कम्पनीको शेयर वा डिबेञ्चरमा गरेको लगानीबाट भविष्यमा उचित प्रतिफल प्राप्त हुन नसक्ने संघको भनाई छ । यस्तो अवस्थामा समेत सो लगानी बिक्री नगरी बैंककै स्वमित्वमा राखिरहनु पर्ने अवस्था सिर्जना हुने हुँदा खरिद गरेको एक वर्ष व्यतीत भएका (अल्पकालिन बाहेक) शेयर वा डिबेञ्चर बिना बन्देज बिक्री गर्न पाउने व्यवस्था गर्न आग्रह गरेको हो।

त्यसैगरि विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागी लगानी गरिएको “घ” वर्गको वित्तीय संस्थाको संस्थापक शेयर तोकिएको प्रक्रिया बमोजिम नियामक निकायको स्वीकृति पश्चात् साधारण शेयरमा परिणत भएमा उपरोक्त साधारण शेयर बराबरको लगानी बिक्री÷विनिवेश गर्नु पर्ने व्यवस्थालाई ऐच्छिक बनाउन आग्रह गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।