साना किसान विकास लघुवित्त २१ औं वर्षमा


साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २० औं वार्षिकोत्सव मनाएको छ ।

२०७८ साल असार २२ गते भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको लघुवित्तले जनाएको छ ।

लघुवित्तको वार्षिकोत्सवलाई सम्बोधन गर्दै राष्ट्र बैंकमा गभर्नर अधिकारीले लघुवित्तले साझेदार संस्थाहरूमार्फत साना किसानहरूको जीवनस्तर माथि उठाउन केन्द्रित रहेकाले संख्यात्मक विस्तारमा गुणात्मक पाटो महत्वपूर्ण भएको भन्दै आगामी दिनमा अझ गुणस्तरीय, प्रभावकारी र नतिजामुखी सेवा सञ्चालन गर्न सुझाव दिएका थिए ।

भर्चुअल माध्यमबाट सम्पन्न भएको कार्यक्रममा ३०० बढी साझेदार कृषि सहकारी संस्थाका किसान प्रतिनिधिहरू लगायतको उपस्थिती रहेको थियो ।

लघुवित्तका अध्यक्ष खेम बहादुर पाठकले संस्थामार्फत सहुलियत कर्जा प्रवाह गरी ग्रामीण क्षेत्रमा अवस्थित साना किसान तथा युवाहरूले कृषिसँग सम्बन्धित व्यवसाय तथा उद्यमहरू सञ्चालन गर्दै आएको बताएका थिए ।

लघुवित्तले सहज र सुलभ दरमा कर्जा पाएको खण्डमा धेरै साना किसानहरूलाई उद्यमी र व्यावसायिक बनाउन सकिने उनको भनाई थियो ।

लघुवित्तले ७४ जिल्लाका ५३१ पालिकामा ९५७ वटा साना किसान कृषि सहकारी संस्था सहित कुल १ हजार ३७४ सहकारी संस्थाहरुको प्रवर्धन र विकास गरी ८ लाख ९७ हजारभन्दा बढी विपन्न तथा साना किसान परिवारमा लघुवित्त एवम् कृषि प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।