बाढी पहिरोको क्षतिबापत सबैभन्दा धेरै दाबी नेको इन्स्योरेन्समा, कुन कम्पनीमा कति पर्यो ?

0
Shares

वर्षातका कारण देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षति बापत निर्जीवन बीमा कम्पनीमा करिब २ अर्बको माग दाबी परेको छ ।

बीमा समितिका अनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा कुल १ अर्ब ९२ करोड ३ लाख ४८ हजार रुपैयाँको माग दाबी परेको हो ।

अविरल वर्षा शुरु भएदेखि असार २३ गतेसम्म सम्पत्ति बीमा, मोटर बीमा, कृषि बीमा तथा पछुपन्छी बीमा, इञ्जिीनियरिङ् बीमा र अन्य विधि बीमा अन्र्तगत गरी बीमा कम्पनीमा कुल ३३१ वटा बीमाको माग दाबी परेको हो ।

कुन कम्पनीमा कति पर्यो दाबी ?

बाढी पहिरोबाट पुगेको भौतिक क्षति वापत सबैभन्दा धेरै दाबी नेको इन्स्योरेन्समा परेको छ । समितिले उपलब्ध गराएको तथ्यांक अनुसार बाढी पहिरोले परेको भौतिक क्षतिवापत नेको इन्स्योरेन्समा ५८ करोड ५ लाख रुपैयाँको दाबी परेको हो । कम्पनीले ४१ दाबी वापत सो रकम भुक्तान गर्नुपर्ने भएको हो ।

यस्तै, नेको पछि अजोड इन्स्योरेन्समा २७ दाबी वापत २९ करोड रुपैयाँको दाबी परेको छ । अजोड पछि सबैभन्दा बढी दाबी सगरमाथा इन्स्योरेन्समा परेको छ । सगरमाथा इन्स्योरेन्समा बाढी पहिरोबाट भएको भौतिक क्षतिवापत २७ दाबी परेका छन् । २७ दाबीवापत कम्पनीमा २७ करोड ९५ लाख ५९ हजार रुपैयाँको दाबी परेको हो ।

यस्तै, एभरेष्ट इन्स्योरेन्समा बाढी पहिरोबाट भएको भौतिक क्षति वापत ११ करोड ७७ लाख ३६ हजार रुपैयाँको दाबी परेको छ । कम्पनीमा बाढी पहिरोका २६ दाबी परेका छन् ।

आइएमई जनरल इन्स्योरेन्समा १० करोड ९९ लाख ६० हजार रुपैयाँ दाबी परेको छ । कम्पनीले १९ दाबी वापत सो रकम भुक्तानी गर्नु पर्ने भएको हो ।

राष्ट्रिय बीमा कम्पनी र प्रिमियर इन्स्योरेन्समा थोरै दाबी

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार बाढी पहिरोले पारेको भौतिक क्षतिवापत सबैभन्दा कम माग दाबी राष्ट्रिय बीमा कम्पनी र प्रिमियर इन्स्योरेन्समा परेको छ ।

राष्ट्रिय बीमा कम्पनीमा एउटा दाबीवापत १ लाख १५ हजार रुपैयाँको माग दाबी परेको हो । त्यस्तैे, प्रिमियर इन्स्योरेन्समा ३ वटा बीमा दाबीवापत ६ लाख ५० हजार रुपैयाँको माग दाबी परेको हो ।

कुन बीमामा कति दाबी ?

निर्जीवन बीमा कम्पनीमा परेको कुल ३३१ दाबीमध्ये सबैभन्दा धेरै सम्पत्ति बीमामा १४१ वटा दाबी परेका छन् । १४१ वटा सम्पत्ति बीमा दाबी वापत ६९ करोड ३६ लाख रुपैयाँको दाबी परेको हो ।

३३ वटा मोटर बीमाको ४ करोड ७५ लाख, ५ वटा सामुन्द्रिक बीमाको १९ लाख ८१ हजार, ६ वटा कृषि बीमाको १ करोड ६२ लाख, ५ वटा पशु पन्क्षी बीमाको २ करोड ३८ लाख र विविधतर्फ २ वटा बीमाको १ करोड ५५ लाख ५१ हजार रुपैयाँ माग दाबी परेको समितिले जनाएको छ ।

यस्तै, समितिको तथ्यांक अनुसार इन्जिनियरिङ बीमातर्फ क्षति भएका १०७ वटा निर्माणाधीन आयोजना बीमाको माग दाबी ९० करोड ७ लाख ३४ हजार, ८ वटा निर्माण सम्पन्न आयोजना बीमाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्वेपमेन्ट बीमाको ८ करोड ८४ लाख ३६ हजार र अन्य ६ वटा बीमाको १ करोड ५३ लाख ३ हजारको माग दाबी परेको छ ।

समितिले उपलब्ध गराएको तथ्यांक अनुसार कुनै पनि कम्पनीले दाबी भुक्तानी गर्न थालेका छैनन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।