शेयर लगानीकर्ताको सम्पत्ति एकैदिन १.३५ खर्बले बढ्यो

0
Shares

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दिन नेप्सेमा करिब १०० अंकको वृद्धि हुँदा शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण एकैदिन १.३५ खर्बले बढेको छ ।

नेप्से ९७.२१ अंकले बढ्दा बजार पूँजीकरण १ खर्ब ३५ अर्ब १९ करोड ३१ लख रुपैयाँ बढेर ४१ खर्ब ४६ अर्ब १८ करोड ९ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको अन्तिम कारोबार दिन असार ३१ गते बिहीबार शेयर बजारको कूल बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

यसअघि २०७८ जेठ ३१ गते नेप्से ४२.७२ अंकले उकालो लाग्दा समग्र बजार पूँजीकरण हालसम्मकै उच्च ४२ खर्ब १६ अर्ब रुपैयाँ कायम भई रेकर्ड भएको थियो । उक्त दिन बजार सूचक नेप्से ३०२५.८३ अंकमा रहेको थियो ।

नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई शेयर बजारको सम्पत्तिको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो ।

यसअवधिमा बजारमा शेयरको आपूर्ति उल्लेख्य बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाहरुले बोनसमा जोड दिएका छन् भने मर्जर तथा प्राप्ती कारण समेत बलिया संस्थाको रुपमा विकसित भैरहेको अवस्था रहेको छ ।

जलविद्युत तथा उत्पादन मुलक क्षेत्रका कम्पनीहरुको सहभागिता पनि बढेको छ । सूचीकृत कम्पनीको हकप्रद शेयर पनि उत्तिकै थपिएको छ । त्यसैगरी नयाँ । कम्पनीहरुको साधारण शेयरका कारण पनि शेयरको आपूर्ति र मूल्य बढेको अवस्था छ ।बजार पूँजीकरण कम्पनीको शेयर र अन्तिम मूल्यको गुणनफल भएकाले शेयर मूल्यसँगै पूँजीकरण पनि बढ्छ ।

हाम्रो बजारमा संस्थापक र पब्लिक शेयर दुबै भएपनि दैनिक कारोबारमा एकाध बाहेक पब्लिकको मात्र हुने गरेको छ । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

कुल ग्राहस्थ उत्पादनको आँकडालाई हेर्दा नेपालको धितोपत्र बजार ‘ओभर भ्याल्यूड’ को अवस्थामा पुगेको छ । कोरोना भाइरस संक्रमण कारणका लगानीका अन्य क्षेत्रमा आएको संकुचन, शेयर बजारमा संस्थागत लगानीकर्ता र ब्यापारिक क्षेत्रको समेत लगानी थपिँदा बजार ‘ओभर भ्यालुड’ भएको हो ।

धितोपत्र बजार बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ५० देखि ७५ प्रतिशतसम्म रहेको अवस्थालाई समान्तर धितोपत्र बजार ‘अण्डर भ्यालुड’ रहेको बुझिन्छ । यस्तै ७५ देखि ९० प्रतिशतमा रहनुलाई धितोपत्र बजार सन्तुलित अवस्थामा रहेको बुझिन्छ । त्यसैगरी कुल ग्राहस्थ उत्पादनको तुलनामा धितोपत्र बजारको पूँजीकरण १०० देखि ११५ प्रतिशतसम्म छ भने त्यो ओभर भ्यालुड भएको मानिन्छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ छ ।

आइतबार धितोपत्र बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनभन्दा २ खर्ब ३ अर्ब माथि पुगेको छ । यसदिनबार बजार पूँजीकरण ४१ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ । यो कुल ग्राहस्थ उत्पादनका आधारमा १०५ प्रतिशतभन्दा धेरै हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।