मेरो शेयरमा फिचर थप भएसँगै समस्या, लगानीकर्ता क्लोज आउटमा पर्ने सम्भावना


केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले मेरो शेयर अनलाइन सफ्ट्वेयरमा नयाँ फिचर थप गरेसँगै समस्या उत्पन्न भएको छ । सफ्ट्वेयरमा पूँजीगत लभकर गणनाका साथै शेयर होल्ड भएको अवधि गण्ना गर्ने फिचर थप गरे पछि साविकका धेरै जसो सेवाहरु अवरुद्ध भएका छन् ।

अर्कातिर यस अघिका लग इन हुन नमान्ने, बिचमा लगआउट हुने, लगइन हुन समय लगाउने समस्या पुनः देखिन थालेका छन् । लगानीकर्ताले नयाँ शेयरको भारित औषत गणना गर्न सकिरहेका छैनन् भने आइतबार शेयर बिक्री गरेका लगानीकर्ताले इडिआईएस समेत गर्न सकिरहेका छैनन् । प्रणाली पूर्ण रुपमा सञ्चालनमा नआएको खण्डमा आइतबारको कारोबारबाट धेरै लगानीकर्ता क्लोज आउटमा पर्ने सम्भावना देखिएको छ ।

सिडिएससीले लगानीकर्तालाई आफुले किनेको शेयरको होल्डिङ अवधि थाहा हुनुका साथै पूँजीगत लाभकर गण्ना गर्ने फिचर मेरो शेयरमा आइतबार साँझदेखि थप गरेको थियो । मोबाइल एपमा पनि उक्त फिचर आइतबार साँझदेखि थप गरि एप अपडेट गरेर चलाउन सकिने व्यवस्था गरिएको थियो ।

एप तथा सफ्ट्वेयर अपडेट भएसँगै डाटा लोड हुन सकिरहेको छैन । जसका कारण धेरैजसो सेवाहरु सञ्चालन हुन नसकेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले पूर्ण तयारी नगरी परिक्षणका रुपमा प्रणालीहरु सञ्चालनमा ल्याउँदा सबै भार लगानीकर्तामा पर्ने गरेको बताए ।

आइतबारको कारोबारको इडिआईएस हुन नसकिरहेको सम्बन्धमा उनले प्रणालीको समस्याका कारण लगानीकर्तालाई क्लोज आउटमा पर्ने अवस्था आउन नहुने बताए । समयमा नै कारोबार राफसाफ नहुँदा लगानीकर्ताको सम्पत्ति बन्धक हुने भन्दै उनले केन्द्रिय निक्षेप प्रणालीको ध्यानाकर्षण समेत गराएका छन् ।

“खातामा नभएको शेयर बिक्री गर्न मिल्ने प्रणाली बनाएर बिक्री गर्न मिल्दैन भन्ने अनि कोही कसैको यस्तो कारोबार भएको खण्डमा जरिवाना लगाउने, यो अभ्यास विश्वको कुन मुलुकमा छ ? मेरो शेयरमा पनि यस्ता धेरै समस्या छन् । बजारको आकार बढेसँगै यसलायृ चुस्त बनाउन सिडिएससीलाई आग्रह गर्छु । लगानीकर्तालाई विभिन्न बहानामा जरिवानाको भागीदार नबनाइयोस्”, पौडेलले भने ।

उता सिडिएससीले भने नयाँ पिचर अपडेट भए पछि पहिलो चरणमा प्रणाली केही सुस्त भएको भन्दै इडिआईएस, लाभकर गण्ना लगायतका सेवा अवरुद्ध नभएको दाबी गरेको छ । नयाँ सिष्टिममा धेरै डाटा एकै पटक लोड गर्नु परेकाले सुस्त भएको समस्या सोमबार साँझसम्ममा समाधान हुने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

“पुरानो सबै डाटा अपडेट गरिएकाले प्रणाली केही ढिलो हुँदा पर्खिएर लगानीकर्ताले इडिआईएस गरिरहनु भएको छ । विगतको तुलनामा ६० प्रतिशत काम गर्न सम्भव भईरहेको प्रणाली साँझसम्ममा पूर्ण रुपमा चल्छ” सिडिएससी प्रवक्त न्यौपानेले भने ।

३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र ३६५ दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलव पाँच प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था चालु आर्थिक वर्षको बजेटले गरेको थियो । सोही अनुसार साउन ३ गतेदेखि हुने कारोबारलाई लक्षित गर्दै सिडिएससीले आइतबार प्रणाली अपडेट गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।