‘मेक इन नेपाल स्वदेशी-अभियान’ कार्यान्वयनमा सरकारको बलियो साथ रहन्छ- अर्थमन्त्री

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल -स्वदेशी’ अभियान कार्यान्वयनमा सरकारले बलियो साथ दिने बताएका छन् ।

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको भन्दै निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ रहने उल्लेख गरेका हुन् ।

उनले भने ‘मैले मन्त्री भएलगत्तै तथ्यांकहरू हेरेँ, हाम्रो आयात उच्च रहेको, निर्यात कमजोर रहेको र विदेशी मुद्रा सञ्चिति पनि कम रहेको देखेँ’ मन्त्री शर्माले भने, ‘यो अवस्थामा अब परिवर्तन ल्याउन जरुरी छ, त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर नेपालमै उत्पादन वृद्धि गर्ने र आयात न्यूनीकरण गर्नेतर्फ सोच्नुपर्छ।’

अर्थमन्त्री शर्माले आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई सधैं साथमा लिएर अघि बढ्ने बताए। उनले औद्योगिक वातावरण सिर्जनाका लागि निजी क्षेत्रलाई सहयोग गर्न आफू सधैं तयार रहेको उल्लेख गरे । ‘सरकारको उद्देश्य अर्थतन्त्रको सबलीकरण नै हो,’ मन्त्री शर्माले भने, ‘निजी क्षेत्रका लागि लगानीको वातावरण तयार गर्न र नीतिगत सहजीकरण गर्न हामी सदैव तयार छौँ। तपाईंहरूले लगानी बढाउनुस्।’

मन्त्री शर्माले आफू निजी क्षेत्रबाट रचनात्मक सुझाव र सल्लाह लिएर अघि बढ्ने पनि बताए । उनले कोभिड – १९ को महामारीले अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै अघि बढ्न सरकारलाई निजी क्षेत्रको सहयोग आवश्यक पर्ने उल्लेख गरे।  मन्त्री शर्माले असल औद्योगिक सम्बन्धसहितको लगानीयोग्य वातावरण सिर्जना आफ्नो प्राथमिकतामा रहेको बताए ।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारको अर्थमन्त्री पदमा नियुक्त हुनुभएकोमा अर्थमन्त्री शर्मालाई नेपाल उद्योग परिसंघको तर्फबाट बधाई ज्ञापन गरे । अध्यक्ष मोरले सबै नेपाली नागरिकलाई खोप र आर्थिक पुनरोत्थान आजको प्रमुख आवश्यकता भएको बताए। निजी क्षेत्रलाई खोपमा प्राथमिकतामा राख्न पनि अध्यक्ष मोरले आग्रह गरे।

कोभिडले आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता बोध गराइदिएको भन्दै उनले त्यसलाई वास्तविकतामा परिणत गर्न नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल – स्वदेशी’ अभियान सञ्चालन गरेको जानकारी गराए ।

परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले घोषणा गरेका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले कोभिड-१९ बाट कमजोर बनेको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिबाट पनि सम्बोधन हुने अपेक्षा निजी क्षेत्रले गरेको उल्लेख गरे ।
कार्यक्रममा परिसंघका निवर्तमान् अध्यक्ष हरिभक्त शर्मा एवं उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे तथा महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।