नेष्डो समृद्ध लघुवित्तले साधारण शेयर निष्काशनका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति


नेष्डो समृद्ध लघुवित्तले साधारण शेयर निष्काशनका लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

लघुवित्तले सर्वसाधारणका लागि ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयर निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । लघुवित्तले आफ्ना कर्मचारी र सामुहिक लगानी कोष समेतलाई उक्त परिमाणको साधारण शेयरको सार्वजनिक निष्कासन गर्न अनुमति मागेको धितोपत्र बोर्डले जनाएको छ ।

लघुवित्तले ग्लोबल आइएमई क्यापिटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो । सो पश्चात क्यापिटलले थप प्रकृया अघि बढाएको हो ।

पर्वत जिल्लाको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था, नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको लघुवित्तमा दुई वटा संस्था र ८१ जना संस्थापक शेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको शेयर पुँजी चुक्ता भैसकेको छ ।

लघुवित्तले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरीवित्तीय सेवा दिंदै आईरहेको छ ।

विगत २० वर्ष देखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा मिति २०७५ फाल्गुण २९ गतेका दिनदेखि लघुवित्त संंस्थाको रुपमा ईजाजत प्राप्त गरेसँगै वित्तीय कारोबार गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।