सरकारले कोरोना महामारीका कारण सुस्ताएको अर्थतन्त्रलाई पुरानो लयमा फर्काउनका लागि राहत तथा सहुलियत प्याकेज ल्याउने भएको छ । नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि सरकारले छिट्टै राहत प्याकेज ल्याउने बताएका हुन् ।
कोरोनाको भ्याक्सिनले मात्र मुलुक उठ्न नसक्ने बताएका मन्त्री शर्माले अर्थतन्त्र उकास्नका लागि राहत प्याकेजकोे भ्याक्सिन पनि जरुरी रहेको भन्दै यसका लागि सबै पक्षबाट सुझाव लिने काम भईरहेको बताए ।
दिनहुँ चुलिँदै गएको व्यापार घाटा नियन्त्रणका लागि औद्योगीकरणलाई स्थानीयस्तरदेखि नै प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने आवश्यक्ता औंल्याएका मन्त्री शर्माले सबै पक्षले हातेमालो गरेर यसलाई सार्थक बनाउनु पर्ने बताए ।
स्थानीयस्तरमा साना साना उद्योगको संख्या बढाएर त्यसको सहयोगमा ठुला उद्योगको विकासमा लाग्नु पर्ने बताए । सरकारले यो अवधारणालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका मन्त्री शर्माले आयातमूखी अर्थतन्त्रलाई निर्यातमूखीमा बदल्नका लागि यस्तो सोच बनाइएको बताए ।
कोरोना महामारीका कारण आर्थिक रुपमा चुनौतीपुर्ण घडीमा पुगिए पनि सम्भावनाहरु उत्तिकै रहेको मन्त्री शर्माको भनाई थियो । यसका लागि इच्छाशक्ति महत्वपुर्ण हुने उनले बताए । कोरोना महामारीले आत्मनिर्भर हुन सिकाएको बताएका उनले यस्तो अवस्थामा राजनितिक वा व्यवसायिक क्षेत्र एक भएर अघि बढ्दा आर्थिक विकास तिब्र हुने बताए ।
स्वदेशमा आर्थिक कृयाकलाप चलायमान बनाउन परिसंघको मेक इन नेपाल अभियानले पनि सघाउने विश्वास उनले व्यक्त गरे । रोजगारी सृजना तथा अर्थतन्त्रको सुदृढीकरणका लागि परिसंघको अभियानले रचनात्मक भूमिका निर्वाह गर्न सक्ने भन्दै उनले अभियानको खुलेर प्रशंसा गरेका थिए ।
औद्योगिक क्षेत्रमा लगानी आकर्षण गर्नु पर्ने बताउँदै मन्त्री शर्माले उपभोगमूखी अर्थतन्त्रलाई उत्पादनमूखी अर्थतन्त्रमा बदल्ुनु पर्ने आवश्यक्ता औंल्याए । यसका लागि सरकार र निजी क्षेत्रको सहकार्यमा उत्पादनमा आधारित अर्थतन्त्रको विकासमा लाग्ने उनको भनाई थियो ।
सरकार र निजी क्षेत्रको सहकार्यमा नै दुई दशकमा मुलुकलाई गरिबीमुक्त बनाउन सकिने उनको भनाई थियो ।
हाल २ खर्ब १५ अर्ब रुपैंया बराबरको कृषिजन्य वस्तुको आयातलाई निरुत्साहित गर्ने अभियान चलाउन लागिएको भन्दै यसमा न्जिि क्षेत्रले सघाउनु पर्ने बताएका थिए । यसमा परिसंघको मेक इन नेपाल अभियानको विशेष भूमिका रहने उनको भनाई थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया