बजार पूँजीकरणमा टेलिकमलाई नबिल बैंकले उछिन्यो, अन्तर कति ?


नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमा बजार पूँजीकरणका आधारमा नबिल बैंक पहिलो स्थानमा आएको छ । यस अघि नेपाल टेलिकम धेरैजसो समय बजार पूँजीकरणका आधारमा पहिलो स्थानमा रहँदै आएको थियो ।

बिहीबार नबिल बैंकको शेयर मूल्यमा आएको सुधारसँगै बजार पूँजीकरणमा पहिलो स्थानमा उक्लिएको हो । बिहीबार नेपाल टेलिकमको प्रतिकित्ता शेयर मूल्य ६ रुपैंयाले घट्दा नबिल बैंकको ५ रुपैंयाले बढेको थियो । दुई कम्पनीको शेयर मूल्यमा आएको उतारचढावका बिच नबिलले पूँजीकरणमा अग्रता लिएको हो ।

बैंकले पहिलो पटक बजार पूँजीकरणमा अग्रता लिँदा गौरव महसुस भएको बैंकका डेपुटी सिइओ सुजित शाक्यले बताए । “बैंकले पूँजीकरणमा अग्रता लिँदा गौरव महसुस भएको छ । त्यसमा पनि नेपाल टेलिकमलाई उछिन्दा एकदमै खुसी अनुभव भएको छ”, उनले भने “यो ‘अचिभमेण्ट’ बैंक सञ्चालक समिति, कर्मचारीको मात्र नभई नबिलसँग जोडिएका सेवाग्राही, नियामक निकाय, शेयरधनी लगायत सबैको ‘अचिभमेण्ट’ हो ।”

बिहीबारको अन्तिम पटकको कारोबारका आधारमा नबिल बैंकको बजार पूँजीकरण १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार रुपैंया कायम भएको छ । १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकरण भएको बैंकको प्रतिकित्ता शेयर मूल्य १ हजार ४५९ रुपैंया छ ।

उता पूँजीकरणमा पहिलो स्थानबाट दोस्रो स्थानमा झरेको नेपाल टेलिकमको १५ करोड कित्ता शेयर सूचीकरण भएकोमा प्रतिकित्ता शेयर मूल्य १ हजार २९६ रुपैंया छ । उसको बजार पूँजीकरण १ खर्ब ९४ अर्ब ४० करोड रुपैंया छ ।

टेलिकमलाई नबिलले बजार पूँजीकरणमा २ अर्ब २७ करोड रुपैंयाले पछि पारेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।