माछापुच्छ्रे बैंकको ऋणपत्रको बिक्री बन्द हुँदै, आवेदन दिने आज अन्तिम दिन

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेड ले असार ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ मा आज बैंकिङ्ग समयपश्चात बन्द हुने भएको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । बैंकले जारी गरेको दश वर्ष अवधिको ऋणपत्रको ब्याजदर वार्षिक ८.५० प्रतिशत कायम गरिएको छ । बैंकले बिक्रीमा ल्याउने ऋणापत्रलाई ‘माछापुच्छ्रे डिबेन्चर २०८७’ नाम दिइएको छ ।

बैंकले निष्काशन गर्ने ३० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि जारी हुने १२ लाख युनिटमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता डिबेन्चर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले खरीद गर्न पाउनेछन् ।

सो ऋणपत्र खरिदका लागि छिटोमा साउन ४ गतेसम्म तथा ढिलोमा साउन १७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था भएपनि आवश्यक आवेदन परेपछि साउन १४ पछि आवेदन बन्द गर्न लागिएको हो । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर सिङ्गल ए माइनस एटदरेट’ रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने र कर्जा जोखिम न्यून भएको मानिन्छ ।

बैंकले बिक्री गर्ने नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा बिक्री गर्न सकिनेछ । यस्तै, बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा ऋण समेत लिन सकिन्छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी (तरलता) अभाव भएपछि बैंकहरुले दीर्घकालीन स्रोत परिचालन गर्ने उदेश्यका साथ पछिल्लो समय ऋणपत्र जारी गर्ने विधि अपनाउन थालेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।