अर्थतन्त्रलाई नयाँ दिशामा लैजाने कोशिस गर्दैछु : अर्थमन्त्री शर्मा


अर्थमन्त्री जनार्दन शर्माले कोरोनाका कारण नकराम्मक असरको शिकार भएको अर्थतन्त्रमालाई लयमा फर्काउन आफुले कोशिस गरिरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिज पदाधिकारीसँगको भेटका क्रममा मन्त्री शर्माले सबै पक्षको सल्लाह सुझाव लिएर अर्थतन्त्रलाई फरक बाटोमा अघि बढाउन पहल गरिरहेको बताएका हुन् ।

आफूलाई अहिले जनताका अपेक्षाहरुको भारीले त्रसित बनाएको भन्दै मन्त्री शर्माले भने, “मसँग काम गर्ने धेरै समय छैन । धेरै गर्न सकिने अवस्था पनि छैन । तर विषय विज्ञ एवं तपाइहरु सबैको सुझाव र जनताको आवाज दुवै कुरा मिसाएर अर्थतन्त्रलाई केही न केही मात्रामा फरक दिशा दिने सोचेको छु र त्यो म गर्छु ।” मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने हिसावले पहलकदमी अघि बढाइने सोंच रहेको बताएका थिए ।

मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने विषयमा कुनै सत्यता नरहेको बताएका मन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकोले त्यस्तो निर्देशन जारी नगरिएको जानकारी दिए । राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरुको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन आफुले आग्रह मात्र गरेको उनको भनाई थियो ।

श्वेतपत्रको सम्बन्धमा राखिएको ज्ञिजासामा मन्त्री शर्माले कसैलाई गल्ती देखाउन नभई आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर जनतालाई जानकारी दिन मात्र खोजिएको प्रष्टोक्ति दिएका थिए । “यो कुनै फिल्म खेल्ने कुरा होइन, भिलेनलाई पछारेर हिरोले जितेको देखाउनलाई, म त्यस्तो अभियानमा छैन । आफूले देखेको कुरा भन्ने हो । जे छ त्यही प्रष्ट राख्ने हो” अर्थमन्त्री शर्माले भने ।

कार्यक्रममा अर्थसचिव शिशिर कुमार ढुङ्गानाले अर्थतन्त्रको स्थिति कमजोर अवस्थामा रहेको जानकारी दिँदै पुँजीगत खर्च बढाउने र व्यापार घाटा कम गर्ने दिशामा मेहेनत गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा आर्थिक पत्रकार संघका अध्यक्ष मोदनाथ ढकालले श्रमजिवी पत्रकारहरुको श्रम शोषण गर्ने मिडिया हाउसलाई सरकारी सुविधा रोक लगाउने किसिमको व्यवस्था गर्न सुझाव दिएका थिए । उनले पत्रकारहरुको लागि आर्थिक राहत भन्दा सामाजिक सुरक्षाका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।