ओली सरकारले बजेट भन्दा बाहिर गएर स्रोत सुनिश्चितता गर्दा दायित्व बाँकी : अर्थमन्त्री शर्मा


निवर्तमान प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले वर्षेनी बजेट भन्दा बाहिर गएर स्रोत सुनिश्चितता सहमति दिएको संयुक्त सरकारका अर्थमन्त्री जनार्दन शर्माले बताए । अर्थमन्त्री शर्माले श्वेतपत्र मार्फत विनियोजन बाहिरको स्रोत सुनिश्चितताको दायित्व बाँकी नै रहेको बताएका हुन ।

सरकारले प्रचारमूखी बजेट ल्याउने गरेको बताउदै मन्त्री शर्माले भने,“ सरकारले वर्षेनी बजेट भन्दा बाहिर गएर स्रोत सुनिश्चितता सहमति दिएको विषयमा सम्ममननीय सदमा आगामी दिनमा छलफल हुने नै छ ।” श्वेत पत्रमा भने सडक पूर्वाधार तर्फ झण्डै ३ खर्ब र रेल पूर्वाधार तर्फ ५७ अर्ब रुपैयाँ विनियोजन बाहिरको स्रोत सुनिश्चितताको दायित्व बाँकी रहेको मन्त्री शर्माले बताए ।

विगतको सरकारले कोषको अवस्थामा ध्यान नदिई बजेट निर्माण गर्ने गरेको कारण बजेट प्रतिको विश्वसनियतामा ह्रास आएको शर्माको दावी रहेको छ । २०७४ चैत्रमा तात्कालिन सरकारले जारी गरेको श्वेतपत्रमा सो आर्थिक वर्षको अन्त्यमा कोष ४८ अर्ब रुपैयाँले सञ्चित घाटामा रहेको उल्लेख छ । तर त्यसमा सुधार आउनुको सट्टा यस्तो घाटा गत आवसम्ममा आइपुग्दा कोष १ खर्ब ४३ अर्ब रुपैयाँले घाटामा रहने देखिएको शर्माको ठहर छ ।

सरकारी खर्च बढ्दै गएपनि चालु खर्चको तुलनामा पुँजीगत खर्च बढ्न नसकेको निवर्तमान सरकारले स्विकार गरेको बताउदै शर्माले आर्थिक वर्ष २०७४/७५ मा संघीय सरकारको कुल खर्च १० खर्ब ८७ अर्ब हुँदा पुँजीगत खर्च २४.९ प्रतिशत भएकोमा गत आर्थिक वर्षमा संघीय सरकारको कुल खर्च ११ खर्ब ८० अर्ब रुपैयाँ हुँदा पुँजीगत खर्च १९.३५ प्रतिशतमा सिमित हुन पुगेको श्वेत पत्रमा उल्लेख छ । त्यसैगरी, आर्थिक वर्ष २०७४/७५ को कुल खर्चमा चालु खर्चको अनुपात ६४.१ प्रतिशत रहेकोमा गत आवमा यस्तो खर्च खर्च ७२.१ प्रतिशत पुगेको छ ।

आर्थिक वर्ष २०७३/७४मा पुँजीगत खर्चतर्फ विनियोजित रकमको ६६.९ प्रतिशत प्रगति हासिल भएकोमा गत आवमा ६४.७ प्रतिशत मात्र खर्च भएको छ । यस्तै केपीओली सरकारले बजेट कार्यान्वयन क्षमतासँग मेल नखाने गरी प्रचारात्मक ढङ्गले बजेटको आकार वृद्धि गर्दै आएको श्वेतपत्रमा उल्लेख छ । आर्थिक वर्षको अन्तिम महिनामा उल्लेख्य खर्च हुने गरेबाट वित्तीय अनुशासन कायम रहन नसकेको तथा बजेटको प्राथमिकता र कार्ययोजना अनुरुप खर्च हुन नसकेको श्वेतपत्रले देखाएको छ ।

आर्थिक वर्ष २०७३/७४मा कुल खर्चको २७.७४ प्रतिशत रकम असार महिनामा खर्च भएकोमा गत आवको असार महिनामा त्यस्तो खर्च २२.२३ प्रतिशत रहेको छ । विगत पाँच आर्थिक वर्षको तथ्याङ्क हेर्दा असार महिनामा भएको औसत खर्च कुल खर्चको २३.१० प्रतिशत रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।