राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा घटेपनि वितरण योग्य मुनाफामा उच्च वृद्धि

0
Shares

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले आ.व.२०७७/७८ मा ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो ।

बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण खुद व्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको जनाएको छ ।

आ.व. २०७७/७८ को बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड (गत वर्ष रु. ९ अर्ब ४५ करोड), कुल संचालन आम्दानी ९ अर्ब ७६ करोड (गत वर्ष १० अर्ब ७० करोड), संचालन नाफा ५ अर्ब ९ करोड (गत वर्ष ५ अर्ब ९४ करोड), कूल समग्र आम्दानी. ६ अर्ब ३७ करोड (गत वर्ष २ अर्ब ४८ करोड) तथा वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड (गत वर्ष ४४ करोड ७७ लाख) रहेको थियो

यस अवधिमा बैंंकको खुद नाफामा कमी आएको भएतापनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरण योग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।

२०७८ आषाढ मसान्तमा बैंकको निक्षेप २ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट. १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७७/७८ मा बैैंंकको शेयरधनी कोष ७ अर्ब १५ करोडले वृद्धि भई रु. ३० अर्ब १८ करोड र कुल सम्पत्ति ४४ अर्ब रुपैंयाले वृद्धि भई ३ खर्ब १० अर्ब पुगेको छ ।

बैंकको पुँजी कोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुंजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, व्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।