फलफूलको मूल्यमा अस्वभाविक वृद्धि, धेरैजसोको मूल्य एक वर्षमै दोब्बर

0
Shares

अघिल्लो आर्थिक वर्ष २०७६।७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा ताजा फलफूलको थोक मूल्यमा अस्वभाविक वृद्धि देखिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको तथ्यांकमा नै यस्तो भेटिएको हो ।

आर्थिक वर्ष २०७६।७७ को तुलनामा गत आर्थिक वर्षमा सबैजसो फलफूलको मूल्य ५० प्रतिशतदेखि शतप्रतिशतभन्दा बढीले उचालिएको पाइएको हो । समितिको तथ्याङ्क अनुसार नै एक वर्षको अवधिमा अप्रत्यासित रुपमा फलफूलको मूल्य बढेको छ । यसअवधिमा स्याउ, अनार, अंगुर, नेपाली तथा भारतीय सुन्तला, लिचीको औषत थोक मूल्यमा एक सय प्रतिशतसम्मले मूल्य बढेको छ ।

२०७७ असार मसान्तमा औषतमा प्रतिकेजी ११८ रुपैयाँ तोकिएको स्याउ (झोली) को थोक मूल्य पछिल्लो एक वर्ष अवधिमा १४० रुपैयाँ (११७ प्रतिशत) ले बढेर २०७८ असारमा औषतमा प्रतिकेजी २५८ रुपैयाँ पुगेको छ । यस अवधिमा स्याउ (झोली) को मूल्य न्यूनतम थोक मूल्य ९० रुपैयाँबाट १६० रुपैयाँ बढेर २५० रुपैयाँ र २०७७ असारमा अधिकतम १७० रहेकोमा ११० रुपैयाँ बढेर विसं २०७८ असारमा २८० रुपैयाँ पुगेको छ । यस्तै फुजी स्याउको औषत थोक मूल्य पनि प्रतिकेजी ११९ रुपैयाँ बढेर २६४ रुपैयाँ पुगेको छ ।

एक वर्षको अवधिमा अन्य सबैजसो फलफूलहरुको औषत थोक मूल्यमा पनि सोही अनुपातमा वृद्धि भएको छ । केरा ३० रुपैयाँ, अनार १३९ रुपैयाँ, आँप २८ रुपैयाँ, हरियो अंगुर १५३ रुपैयाँ, कालो अंगुर १४३ रुपैयाँ, नेपाली सुन्तला ११५ रुपैयाँ, भारतीय सुन्तला १२० रुपैयाँ, तरबुजा ११ रुपैयाँ, भुँइकटहर २२ रुपैयाँ, लिची ५२ रुपैयाँ र मेवाको औषत थोक मूल्य १३ रुपैयाँले बढेको छ ।

एक वर्षको अवधिमा केराको मूल्य दर्जनको औषतमा ७८ रुपैयाँबाट बढेर १०९ रुपैयाँ, अनार १४५ बाट २८४ रुपैयाँ, आँप ६६ बाट ९४ रुपैयाँ, हरियो अंगुर १०४ बाट २५७ रुपैयाँ, कालो अंगुर १६९ बाट ३१२ रुपैयाँ, नेपाली सुन्तला ९५ बाट २१० रुपैयाँ, भारतीय सुन्तला ११४ बाट २३३ रुपैयाँ, तरबुजा ३३ बाट ४४ रुपैयाँ, भुँइकटहर १२१ बट १४३ रुपैयाँ, लिची ६५ बाट ११७ रुपैयाँ र मेवाको औषत थोक मूल्य ९५ बाट १०८ रुपैयाँ पुगेको छ ।

 

कसरी हुन्छ फलफूलको मूल्य निर्धारण ?

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार, “सिजन सिजनमा हुने देशभित्रको आन्तरिक उत्पादनले आन्तरिक बजारको माग धान्न नसक्दा अधिकांश फलफूल भारत र चीनबाटै आयात हुने गरेको छ । आयात हुने फलपूलको मूल्य बढेर आयो भने नेपालमा पनि स्वतः बढ्ने र घटेर आउँदा यता पनि घट्ने गर्दछ । ”

उनका अनुसार आन्तरिक उत्पादनमा सबैभन्दा बढी फलफुल सुन्तला उत्पादन हुने गर्दछ । यसमा उत्पादनको अवस्था र बजार सम्म आउँदाको अवस्था तथा बजारमा सिर्जना हुने माग र पूिर्तको के कस्तो छ भन्ने कुराले पनि मूल्यमा फरक पार्छ ।

फलफूलको मूल्य कुनै व्यक्ति, व्यापारी वा समिति विशेषले निर्धारण गर्ने होइन । बजारमा आएको फलफूल किसान वा विदेशबाट कति मूल्यमा खरीद भई आएको हो त्यसअनुसार नै बजार मूल्य निर्धारण हुने गर्दछ ।

बजारमा सम्बन्धीत वस्तुको आपूर्ति र माग, वस्तुको गुणस्तर, कुन स्रोतबाट आएको हो, कसरी कुन अवस्थामा आएको हो यी विविध कुराले फलफुलको मूल्यलाई फरक पारिरहेको हुन्छ ।  अर्थात यिनै विविध कुराहरुका आधारमा फलफूलको मूल्य निर्धारण हुने गर्दछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।