सेञ्चुरी बैंकको खूद ब्याज आम्दानीसँगै घट्यो नाफा

0
Shares

सेञ्चुरी कमर्सियल बैंक (CCBL) को खूद नाफा गत आर्थिक वर्ष २०७७/७८ मा घटेको छ ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७५ करोड ३६ हजार रुपैयाँ मात्र खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ४५ लाख नाफा गरेकोमा ५ करोड ४५ लाखले नाफा घटेको हो । बैंकको खूद ब्याज आम्दानीसँगै नाफा पनि घटेको हो ।

चुक्ता पूँजी ९ अर्ब ३ करोड रहेको बैंकको वितरणयोग्य नाफा भने ४८ प्रतिशतले बढेर ५९ करोड ४६ लाख रुपैयाँ छ । अघिल्लो आवमा ४० करोड मात्र थियो ।

बैंकको खूद ब्याज आम्दानी र सञ्चालन नाफा पनि घटेको छ । अघिल्लो वर्ष २ अर्ब ६९ करोड रहेको खूद ब्याज आम्दानी २ अर्ब ६० करोड रुपैयाँमा सीमित हुँदा सञ्चालन नाफा १ अर्ब २१ करोडबाट १ अर्ब ३ करोडमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.२९ प्रतिशत, नेट फि तथा कमिशन आय ५१.९६ प्रतिशत, सञ्चालन नाफा १४.९० प्रतिशत घटेको हो ।

गत आवमा बैंकले ९३ अर्ब ४९ करोड निक्षेप संकलन गरी ७८ अर्ब ९ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप ४३.१४ र कर्जा ३४.२९ प्रतिशतले बढेको छ ।

बैंकको रिटेन अर्निङमा ५९ करोड ६२ लाख र जगेडा कोषमा १ अर्ब ४२ करोड सञ्चित छ ।

बैंकको प्रतिशेयर आम्दानी ८.३० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२२.३४ रुपैयाँ, कस्ट अफ फण्ड ५.६६ प्रतिशत, आधार दर ७.८० प्रतिशत, सीडी रेसियो ७९.३८ प्रतिशत, मूल्य आम्दनानी अनुपात ३५.०५ गुणा र खराब कर्जाको अनुपात १.९५ प्रतिशत कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।