गत आवमा ९ वाणिज्य बैंकको वितरणयोग्य नाफामा गिरावट, राष्ट्रिय वाणिज्य बैंकको उच्च वृद्धि

0
Shares

गत आर्थिक वर्ष २०७७/७८ मा ९ वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा अघिल्लो आवको तुलनामा घटेको छ । यस्तै यस अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा करिब ५०० प्रतिशतले बढेको छ । आरबिबिपछि अर्को सरकारी बैंक नेपाल बैंकको वितरणयोग्य नाफा डेढ सय प्रतिशतले वृद्धि भएको छ ।

गत आवमा भारतीय स्टेट बैंकको बहुमत विदेशी स्वामित्व रहेको नेपाल एसबिआई बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै ६५.६७ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३३ करोड ९२ लाख रुपैयाँ मात्र रहेको छ । अघिल्लो आवमा ९८ करोड ८० लाख थियो ।

यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टड, सनराइज, लक्ष्मी, मेगा, सेञ्चुरी, एनआईसी एशिया र कृषि विकास बैंकको पनि वितरणयोग्य नाफामा अघिल्लो आवको तुलनामा कमी आएको छ ।

समीक्षा अवधिमा राष्ट्रिय वाणिज्यको वितरणयोग्य नाफा ४९३ प्रतिशतले बढेर ४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने नेपाल बैंकको १४९ प्रतिशत बढेर ३ अर्ब ४९ करोड रहेको छ । सिभिल बैंक, ग्लोबल आइएमइए बैंक, सिटिजन्स, नेपाल बंगलादेश बैंक, प्राइम र कुमारी बैंकको वितरणयोग्य नाफा पनि ५० प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुको वितरणयोग्य नाफा ३५.४१ प्रतिशत अर्थात १२ अर्ब ३८ करोडले बढेर ४७ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो नाफा ३४ अर्ब ९९६ करोड ५९ लाख रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।