अधिकांश बैंकहरुको स्प्रेड घट्दा ठूलाले मात्र किन बढाए ?

0
Shares

वाणिज्य बैंकहरुको औसत कर्जा तथा निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) घटेको छ । केही ठूला वाणिज्य बैंक बाहेक अधिकांशको स्प्रेड दर घटेपछि समग्र बैंकिङ क्षेत्रको औसत स्प्रेड दर घटेको हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये २० को स्प्रेड घटेको भएपनि सरकारी लगानीमा सञ्चालन भएका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक सहित ७ ठूला बैंकको स्प्रेड बढेको छ । स्प्रेड बढाउने बैंकहरुमा नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड, प्रभू, सानिमा र प्राइम कमर्सियल बैंक रहेका छन् ।

स्रोतको लागत कम रहेका बैंकहरुले पनि नाफा बढाउनका लागि स्प्रेड बढाउँदा राष्ट्र बैंकले तोकेको सीमा नजिक पुगेको देखिन्छ ।

बैंकिङ क्षेत्रमा ग्राहकको पहिलो रोजाइमा पर्ने बैंकहरुले नै स्प्रेडमा खेलेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नबिल बैंक तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा उपलब्ध हुने स्रोतको कस्ट अन्यको तुलनामा कम हुन्छ ।

स्रोतको लागत कम भएका बैंकहरुको आधार दर पनि थोरै हुन्छ । गत आर्थिक वर्षको असारसम्ममा स्रोतको सस्तो लागत भएका बैंकहरुले नाफा वृद्धिका लागि स्प्रेडमा खेलेको देखिन्छ । गत आर्थिक वर्षमा कोरोनाका कारण आर्थिक गतिविधि ठप्प रहेपछि बैंक वित्तीय संस्थाले ब्याजदर घटाएका थिए । त्यति मात्र नभई नेपाल राष्ट्र बैंकले पनि कोरोनाका कारण प्रभावित अर्थतन्त्रलाई राहत दिने भन्दै ब्याजदर घटाउने नीति अबलम्बन गरेको थियो ।

गत आवमा कर्जाको ब्याजदर नै एकल अंकमा झरेको थियो । आर्थिक गतिविधिमा आएको सुस्तता र रेमिट्यान्स आप्रवाहको वृद्धिले बैंकहरुमा अधिक तरलता हुन थाल्यो । त्यसपछि बैंकहरुको स्रोतको लागत समेत घट्यो । तर, बैंकहरुबीचको प्रतिस्पर्धा भने कायम नै रह्यो । बैंकहरुले प्रतिस्पर्धा गर्ने क्रममा स्प्रेड कम गरेर कर्जा लगानी गर्नु पर्ने अवस्था रह्यो ।

ठुला बैंकको तुलनामा साना बैंकले निक्षेप अकर्षित गर्न केही बढेर ब्याजदर दिने गर्छन । त्यसले गर्दा आधार दर पनि माथि हुन जान्छ । प्रतिस्पर्धा गरेर बैंक व्यवसाय गर्दा नाफा कम राखेर भएपनि ग्राहकलाई अन्य संस्थाले दिएको दरमा सेवा दिनु पर्ने हुन्छ । त्यसका लागि बैंकहरुले स्प्रेड कम गरेर दिनु पर्ने हुन्छ । नियामक निकायले तोकेको सीमामा स्प्रेड कायम गर्दा ब्याजदर अन्य संस्थाको भन्दा धेरै हुदाँ प्रतिस्पर्धी बजारमा व्यवसाय विस्तार गर्न समस्या हुन्छ ।

त्यसैले बैंकले आम्दानी थोरै हुने भएपनि प्रतिस्पर्धा गर्दै स्प्रेड कम राखेर काम गर्नु पर्ने हुन्छ । तर, ठुला तथा पुराना भनेर चिनिएका बैंकले सस्तो दर निक्षेप पाउन छन् । निक्षेपको लागत नै थोरै भएपनि आधार दर पनि तल हुन्छ । त्यसैले उनीहरुले बजारमा प्रतिस्पर्धा गरेर लगानी विस्तार गर्दा पनि नियामक निकायले तोकेको स्प्रेडको सीमाको पुरा फाइदा उठाउन सक्छन ।

Bank 2078 Ashad Spred Rate 2077 Ashad Spred Rate
Agricultural Development 4.37% 4.44%
Rastriya Banijya 4.37% 4.26%
Nepal Bank 4.34% 3.70%
Mega 4.16% 4.39%
Prime 4.09% 3.34%
Sunrise 4.03% 4.37%
Standard Chartered 3.88% 3.63%
Machapuchre 3.82% 4.36%
Nabil 3.79% 3.51%
Nepal Credit & Commerce 3.76% 3.84%
Sanima 3.73% 3.47%
NIC 3.73% 4.18%
Siddhartha 3.70% 4.81%
Prabhu Bank 3.65% 3.57%
Global IME 3.65% 4.43%
Citizens 3.59% 4.03%
Nepal Bangladesh 3.55% 4.32%
Laxmi 3.42% 4.07%
Nepal Investment 3.33% 4.83%
Himalayan 3.32% 3.77%
Century 3.26% 3.38%
Everest 3.24% 3.59%
Nepal SBI 3.18% 3.87%
Kumari 3.13% 4.07%
NMB 3.09% 3.68%
BoK 3.03% 3.81%
CIVIL 2.52% 3.92%

 

नेपाल राष्ट्र बैंकका अनुसार हाल स्प्रेड औसत ब्याजदर अन्तर “क” वर्गका वाणिज्य बैंकहरुको हकमा ४.४ प्रतिशत हुनुपर्छ । गत आर्थिक वर्षको अन्त्यमा आधा दर्जन बैंकहरुको मात्र स्प्रेडदर ४ प्रतिशत भन्दा माथि रहेको छ । यी बैंकहरुले पनि राष्ट्र बैंकको तोकेको सीमा भने पार गरेका छैनन् । अन्य २१ वाणिज्य बैंकहरुको स्प्रेड भने ३ प्रतिशत भन्दा भित्र नै रहेको अवस्था छ ।

गत आवमा प्राइम कमर्सियल बैंकले सबैभन्दा धेरै ०.७५ प्रतिशको बिन्दुले बढाएको छ भने नेपाल बैंकले ०.६४ बिन्दुले बढाएको छ । त्यसैगरी नबिल बैंक ०.२८, राष्ट्रिय बाणिज्य बैंक ०.११, प्रभू बैंक ०.०८, सानिमा बैंक ०.२६ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.२५ प्रतिशतको बिन्दुले बढाएका छन् ।

तर, गत आर्थिक वर्षमा २० बैंकले स्प्रेड घटाएका छन् । यी मध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकले १.५० प्रतिशतको बिन्दुले घटाएको छ । गत आवमा एक प्रतिशतको बिन्दु भन्दा धेरैले स्प्रेड घटाउनेमा इन्भेष्टमेन्ट बैंक सहित सिद्धार्थ र सिभिल बैंक रहेको छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।