बजाजका मोटरसाईकलमा ठगिए उपभोक्ता, सस्तोमा बिक्री गर्ने भन्दै ७६ करोड ७० लाख राजश्व छुट लिएको खुलासा


सस्तोमा बिक्री गर्नेभन्दै नेपालमै मोटरसाईकल उत्पादन गर्न करोडौं राजश्व छुट लिएर बजाज मोटरसाईकलले उपभोक्तालाई ठगि गरेको खुलासा भएको छ । नेपालमा एसेम्बल गरेर उपभोक्तालाई मूल्यमा सहुलियत दिने भन्दै बजाजले एक वर्षमा ७६ करोड ७० लाख ४७ हजार रुपैयाँ राजश्व छुट लिएको भेटिएको हो ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ मा भैरहवा भन्सार कार्यालयबाट मात्रै उक्त छुट पाएको छ । भैरहवा भन्सार कार्यालयबाट बजाजका मोटरसाइकलहरू कम्प्लिटली नक्डडाउन (सी.क.डी.) अवस्थाका उल्लेख गरी ५ अर्ब २८ करोड २५ लाख ८ हजार मूल्यको आयात गरेको थियो । ‘भन्सार जाँचपासका क्रममा अन्तःशुल्क अन्र्तगत ६७ करोड ८८ लाख २ हजार र मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत ८ करोड ८२ लाख ४४ हजार गरेर ७६ करोड ७० लाख ४७ हजार राजस्व छुट लिएको देखिन्छ,’ नोटबजारलाई प्राप्त विवरणमा भनिएको छ ।

बजाज कम्पनीले सरकारलाई पेस गरेको वित्तिय विवरणमा एक विदेशी कम्पनीका मोटरसाइकल सी.के.डी. अवस्थामा ल्याई एसेम्बल गर्दा ३.८१ प्रतिशत मुल्य अभिवृद्धि भएको देखिन्छ । सरकाले आयातकर्तालाई लाग्ने अन्तःशुल्कमा २५ प्रतिशत छुट दिएको छ । सरकारले दिएको राजस्व छुट बराबरको पनि मुल्य अभिवृद्धि नहुदाँ राजस्व छुटको लाभ आयातकर्ता कम्पनीले मात्र लिएको देखिएको हो । यसले अर्थतन्त्र एंव उपभोक्तालाई योगदान पुगेको देखिदैन । अन्तःशुल्क तथा मूल्य अभिवृद्धि करामा छुट दिए तापनि तयारी मोटरसाइकल आयात गरेको भन्दा कम मुल्यमा सर्वसाधारणले खरिद गर्न सक्ने अवस्था नभएकाले एसेम्बल प्रणाली नै औचित्यपूर्ण नभएको महालेखापरीक्षकको कार्यालयले औल्याएको छ ।

नेपालबाट निर्यात हुने मालवस्तुमा निर्यातको सुविधा प्राप्त गर्न कम्तीमा १० प्रतिशत मूल्य अभिवृद्धि हुनुपर्ने र साफ्टाअन्तर्गत रुल अफ ओरिजिन प्रिन्सिपलमा सम्बन्धित देशको उत्पादन हुनको लागि ४० प्रतिशत मूल्य अभिवृद्धि भएको हुनुपर्ने सिद्धान्त रहेको अवस्थामा न्यूनतम पनि सरकारबाट दिएको छुट वरावर वा सोभन्दा वढी मूल्य अभिवृद्धि भएको अवस्थामा मात्र छुट दिने गरी राजश्व छुट पुनरावलोकन हुनुपर्ने प्रतिवेदनले भनेको छ ।

बजाजले २०७२ सालदेखि नेपालमा आफ्नै प्लान्टमार्फत बजाज नामक मोटरसाईकल निर्माण गर्दै आएको छ । कम्पनीका सञ्चालक शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।