काबुल विमानस्थल अहिले पनि अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड

0
Shares

काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको बताइएको छ ।

यहाँ गत आइतबार मात्र पनि कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो । यहाँ अफगान र विदेशी नागरिकको ठूलो भीड लागेको छ ।

अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ । गएको हप्तादेखि काबुलको अन्तरराष्ट्रिय विमानस्थल निकै अव्यवस्थाबीच चलिरहेको बताइएको छ ।

गत अगस्त १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र अफगानिस्तानको सहयोगी राष्ट्रले करिब एक हप्तादेखि सञ्चालनमा ल्याएको उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसको ठूलो संख्याको सामना गर्न सङ्घर्ष गरिरहेका छन् ।

काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तै चुनौतीपूर्ण रहेको भए पनि मानिसले सुरक्षित व्यवस्थापनको माग गरिरहेका छन् । यहाँको प्रशासनले सक्दो प्रयास गरिरहेको बताए पनि एकै पटक धेरै मानिसले देश छोड्न खोज्दाँ सम्भव नहुने भएकाले यहाँ अव्यवस्था देखिएको हो ।

नयाँ सरकार गठनबारे छलफलमा तालिबानी नेता

तालिबान समूहले यहाँको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ ।

अफगानिस्तानका अधिकारीलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमले तालिबानले नयाँ सरकार गठनका लागि आवश्यक परामर्श थालेका जनाएका छन् ।

गनी बरादर तालिबानका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा यसअघिको शान्ति वार्ताका क्रममा तयार गरेको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यति बेला विश्व समुदायले नै अफगानिस्तानमा गठन हुने तालिबानको सरकार कस्तो हुन्छ भन्ने बारेमा निकै चासो पूर्णरुपमा हेरेका छन् । उता तालिबानले भने अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने बताइरहेका छन् ।

तालिबानहरुको यो भनाइप्रति भने विश्व समुदाय विश्वस्त हुनसकेको छैन । यो वाचा गरेको भए पनि यसबारे धेरैमा आशंका व्यक्त भइ आएको छ । यसै कारणले पनि जतिसक्दो चाँडै सरकार गठन गर्न तालिबान लागि परेका बताइएको छ ।

यतिखेर भने तालिबानले अशरफ घानीको पूर्ववर्ती सरकारसँग मिलेर सङ्कटको व्यवस्थापन गरिरहेका बताइएको छ ।

बरादरबाहेक कट्टरवादी धारका हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिबेला काबुलमा छन् । उनको नाम अमेरिका र संयुक्त राष्ट्रसङ्घको फरार आतङ्कवादीको सूचीमा पनि रहेको छ ।

अघिल्लो हप्ता अफगानिस्तानलाई तालिबानले कब्जा गरेपछि अफगानिस्तान बाहिरसमेत रहेका उच्च तालिबान नेता स्वदेश फर्किन थालेका छन् । तालिबानका कतिपय नेता कतारमा रहेका बताइएको थियो । उनीहरु पनि अहिले स्वदेश फर्किरहेका छन् ।

हाल तालिवानका चार संस्थापक नेता रहेका बताइएको छ र तीमध्येका एक जना बरादर रहेका र उनी गत शनिबार पहिला कान्दहार विमानस्थल आएर त्यसपछि काबुल ओर्लिएका बताइएको थियो ।

अफगानिस्तानको कान्दहार शहरमा तालिबान धेरै रहेका छन् । तालिबानले कान्दाहारलाई आफ्नो उद्गमस्थल मान्ने गर्दछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।