नेपाल सेवा र विन लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति


नेपाल सेवा लघुवित्त र विन लघुवित्तलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले दुई लघुवित्तलाई मर्जर प्रकृया पुरा गरी एकीकृत कारोबार सुरु गर्न स्वीकृति दिएको हो ।

बुधबार दुवै संस्थाका प्रतिनिधिलाई मर्जरको अन्तिम स्वीकृतिको पत्र हस्तान्तरण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । मर्जर पछि बन्ने संस्थाको नाम विन नेपाल लघुवित्त रहने छ ।

झण्डै १० महिना पहिले अर्थात २०७७ साल मंसिर ३० गते नेपाल सेवा र विन लघुत्तिले मर्जर सम्झौता गरेका थिए । नेपाल सेवाको ७५ कित्ता शेयर बराबर विन लघुवित्तको १०० कित्ताको अनुपातमा दुई लघुत्ति मर्जरमा गएका हुन् ।

गत जेठ तेस्रो साता साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरी दुई संस्था अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक पुगेका थिए ।

हाल नेपाल सेवाको चुक्ता पूँजी ६ करोड १५ लाख तथा विन लघुवित्तको २ करोड १० लाख रुपैंया छ । नेपाल सेवाको ७५ बराबर विनको १०० कित्ता अनुपातमा मर्जर पछि बन्ने लघुवित्तको चुक्ता पूँजी ७ करोड ७० लाख रुपैंया हाराहारी पुग्नेछ ।

नेपाल सेवा लघुवित्तले सर्वसाधारणमा शेयर निष्काशन गरिसकेको छ भने विन लघुवित्तले निष्काशन गरेको छैन । जसका कारण मर्जर पछि बन्ने विन नेपाल लघुवित्तमा संस्थापक शेयरको हिस्सा बढ्न जानेछ । उक्त अनुपात मिलाउनका लागि लघुवित्तले सर्वसाधारणमा थप नयाँ शेयर (एफपीओ) निष्काशन गर्नेछ ।

नेपाल सेवातर्फको हाल कायम सञ्चालक समितिलाई विन नेपालमा निरन्तरता दिँदै विनबाट तत्कालका लागि २ जना सञ्चालकहरुको पनि प्रतिनिधित्व हुनेछ । त्यसै गरी हाल नेपाल सेवा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्त बहादुर शाक्यले विन नेपाल लघुवित्तको व्यवस्थापनको नेतृत्व सम्हाल्ने छन् ।

नेपाल सेवा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्त बहादुर शाक्यका अनुसार मर्जर प्रकृयालाई पूर्णता दिएर एकीकृत कारोबार सुरु गर्ने तयारी थालिएको छ । एक महिना भित्रमा विन नेपाल लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्नका लागि काम थालिएको बताएका उनले चाड पर्वका कारण धेरै विदा पर्दा थप केही समय लाग्न सक्ने बताए ।

एकीकृत कारोबारसँगै अन्य प्रकृया पुरा भए पछि लघुवित्तको शेयर कारोबार सुचारु हुनेछ । मर्जर सम्झौता गरेसँगै २०७७ पुष १ गतेदेखि नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।