निजी घरको बीमा अनिवार्य गराउन समितिले अभियान नै चलाउने

0
Shares

बीमा समितिले सबै निजी घरको अनिवार्य बीमा गर्नका लागि अभियान नै चलाउने भएको छ । सबै खाले निजी घरको बीमा अनिवार्य गराउने उदेश्यका साथ सो अभियान सञ्चालन गर्न लागिएको हो । 

चालु आवको बजेटमा भएको व्यवस्था बमोजिम समितिले सबै निजी घरको बीमा अनिवार्य गर्न लागेको हो । 

चालु आवको बजेटमा सार्वजनिक पूर्वाधार र सरकारी तथा निजी भवनको बीमा गर्ने व्यवस्थालाई अभियानको रुपमा संचालन गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था बमोजिम समितिले निजी घरको बीमा अनिवार्य रुपमा गर्नका लागि स्थानीय निकायहरुसँग समन्वयन गर्ने बताएको छ ।

घरको बीमा अनिवार्य गर्दै त्यसलाई सहजता थप गर्नका लागि घरको नक्सा पासकै समयमा बीमा गर्ने वातावरण मिलाउनका लागि छलफल गरिने योजना रहेको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए । समितिले स्थानीय पालिकाहरुसँग सहकार्य गर्ने योजना तय गरेको उनको भनाई छ ।

“घरको बीमा गरेर मात्र नक्सा बनाउने व्यवस्था बनाउनु पर्छ, घर जग्गा कर तिर्दा पनि बीमाको रकम तिरेको ल्याउ, नक्सा पास गर्दा पनि बीमा गरेर आउ भन्ने निर्देशन दिए पुग्छ” ‘जसले गर्दा भोलिका दिनमा भैपरी जोखिम आयो भने भोलि नगरपालिकाले टाउको दुखाउनु पर्दैन, पैसा बीमा कम्पनीले दिन्छन्’ उनले भने ।  घर बनाउनु पूर्व नै नक्सा पास गर्दा नै घर बीमा अनिवार्य गर्ने व्यवस्था गरेमा घर बीमाको पहुँच वर्षमा ५० प्रतिशतले बढ्ने उनको भनाई छ ।

समितिले पहिलो चरणमा काठमाडौँ महानगरपालिकासँग सहकार्य गर्ने भएको छ । जसका लागि एक चरणको कुरा भएको समेत उनले बताए । “काठमाडौँ महानगरपालिकासँग मैले आफैँले कुरा गरेको छु, जहाँसम्म लाग्छ केही बजेट नै प्रोभिजन गरेको छ ।” उनले भने ।
महानगरपालिका भित्रका नागरिकलाई बीमाको पहुँचमा ल्याउनका लागि भनेर बजेटमा नै अनुदानको व्यवस्था समेत गरेको उनले जानकारी दिए ।

सरकारी सम्पत्तिको बीमा गराउने विषय सरकारको हो उनले भने । “सरकारले आफ्नो निकायहरुलाई आफ्नो सम्पत्तिको बीमा गराउ अनिवार्य रुपमा बीमा गराउ भन्नुपर्छ, सरकारले आफ्नो मठ मन्दिरको बीमा सरकारले नै गर्ने हो” सिलवालले बताए ।

‘निजी घरहरु काठमाडौँ महानगरपालिकाभित्र, ललितपुर महानगरपालिकाभित्र छन्, सबै स्थानीय निकाय भित्र छन्’, जसको बीमा गर्न नगरपालिका संघसँग कुरा गर्दै गरेको समेत उनले जानकारी गराए । नगरपालिका संघका अध्यक्ष्यलाई भेटेर बीमाको बारेमा अन्र्तक्रिया गर्ने योजना समेत समितिको छ ।

बीमाको बारेमा नगरपालिकाहरुले बुझ्न जरुरी रहेको बताउँदै उनले काठमाडौं महानगरपालिका लगाएतका अन्य स्थानीय तहहरु, प्रदेश, नगरपालिका संघ लगायतसँग घर बीमा अनिवार्य गर्नका लागि क्रमबद्ध रुपमा छलफल गरिने योजाना रहेको बताए ।

हाल एक करोड रुपैयाँसम्मको आवासीय भवन, मठ मन्दिर, ध्यान, पूजा तथा प्रार्थानास्थल तथा त्यसभित्र रहेको सम्पत्तिको बीमा गर्दा जारी गरिएको बीमाको हकमा पचार पैसा (०.५०) प्रति हजार बीमादर कायम गरिएको छ । सो भन्दा बढी रकमको लागि १.५० रुपैयाँ प्रति हजार कायम हुने समितिको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।