शिवम् सिमेन्टसँग साढे २ अर्ब बक्यौता असुल्न अदालतले खोलिदियो प्राधिकरणलाई बाटो


मकवानपुर जिल्ला अदालतले शिवम् सिमेन्टसँग डेडिकेटेड तथा ट्रङ्क लाइनको सबै बक्यौता रकम असुली गर्नका लागि मार्ग प्रशस्त गरिदिएको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले बुधबार अन्तरिम कालिन आदेशलाई निरन्तरता नदिने आदेश जारी गर्दै शिवमबाट २ अर्ब ३९ करोड रुपैयाँ बक्यौता रकम असुली गर्न प्राधिकरणलाई बाटो खोलिदिएका हुन् ।

शिवम् सिमेन्टले विद्युत प्राधिकणलाई महसुल बुझाउनु नपर्ने दाबी गर्दै जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । शिवमले हालेको मुद्धामा अदालतले गत साउन २७ गते अन्तरिम कालिन आदेश जारी गर्दै शिवमसँग तत्काल महसुल नअसुल्न भनेको थियो ।

साउन २७ गतेको उक्त अन्तरिमकालिन आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा अदालतले भदौ १६ गते बुधबार विपक्षीका तर्फबाट विद्युत प्राधिकरणको भनाई सुनेको थियो । प्राधिकरणको बिचार सुनेपछि अदालतले साउन २७ गतेको अन्तरिमकालिन हटाउँदै प्राधिकरणले शिवमसँग बक्यौता रकम असुली गर्न प्राधिकरणलाई बाटो खोलिदिएको हो ।

शिवमसँग तत्काल महसुल नउठाउन जिल्ला अदालतले गत साउन २७ गते जारी गरेको अन्तरिम कालिन आदेशलाई निरन्तरता नदिने आदेश बुधबार भएको अदालतका श्रेष्तेदार तीर्थराज भट्टराईले नोटबजारलाई बताए । उक्त आदेशसँगै अब डेडिकेटेड फिडर विद्युत लाइन प्रयोग गरेबापत ६ वर्षदेखिको बक्यौता शिवमसँग असुल गर्न बाटो खुलेको उनले बताए ।

शिवमले वि.सं २०७२ देखि २०७७ असारसम्मको डेडिकेटेड फिडर प्रयोग गरेको र त्यसको रकम नतिरेको प्राधिकरणको हेटौंडा वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणको हेटौंडा कार्यालयका अनुसार पहिलो पटक शिवमलाई २०७८ असार १० गते २ अर्ब ३४ करोड १६ लाख १ हजार ५५४ रुपैयाँ ४९ पैसा बक्यौता रकम भुक्तानी गर्न पत्राचार गरिएको थियो । त्यसपछि साउन १९ गते २ अर्ब ३५ करोड ५१ लाख ३५ हजार ३६४ रुपैयाँ ६० पैसा असुली गर्न पत्राचार गरिएको थियो । प्राधिकरणले दोस्रो पटक बढेको रकम समेत भुक्तानी गर्न ताकेता गरेपछि शिवम जिल्ला अदालत पुगेको थियो ।

प्राधिकरणका अनुसार भदौ १७ गते सम्ममा आईपुग्दा शिवमले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम बढेर २ अर्ब ३९ करोड ३६ लाख ३४ हजार ७१२ रुपैयाँ ७७ पैसा पुगेको छ ।

यस सम्बन्धमा शिवम् सिमेन्टका कम्पनी सचिव एवं प्रवक्ता लेखनाथ अर्यालले सिमेन्टको मुद्धाको अन्तिम फैसला आई नसकेकाले प्राधिकरणलाई तत्काल महसुल भुक्तानी गर्नुपर्ने अवस्था नरहने बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।