विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी, १३४ जना आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गरिने

0
Shares

नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा रोजगारीको अवसर खुलाएको छ ।

प्राधिकरणले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै विभिन्न तह र सेवा समूहमा रिक्त सह–निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका साढे ४ सय बढी कर्मचारी माग गरेको हो ।

प्राधिकरण कार्यकारी निर्देशकको सचिवालयका अनुसार खुल्ला र आन्तरिकतर्फ गरी ४६४ कर्मचारीको पदपूर्ति गरिने छ । लोक सेवा आयोगले लिने खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाबाट स्थायी पदपूर्ति गर्न प्राधिकरणले आवेदन खुलाएको हो ।

प्राधिकरणका अनुसार खुल्लातर्फ ३३० जना कर्मचारीको पदपूर्ति गरिनेछ । यस्तै अधिकृत स्तरको पदपूर्ति गर्न ५२ जना, पाँचौ तहका लागि ७३ र चौथो तहमा १२६ कर्मचारी माग गरिएको जनाउको छ ।

चौथो तहमा सिनियर मिटर रिडर, सहायक लेखापाल र फोरमेन को पदपूर्ति गरिने प्राधिकरणले जनाएको छ । यस्तै तेस्रो तहका लागि इलेक्ट्रिसियन, जुनियर मिस्त्री र टेक्निसियनको पदपूर्ति गर्न ७९ जनाको आवेदन माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज ६ गतेसम्म साथै असोज ७ गतेबाट १४ गतेसम्म दोब्बर दस्तुर तिरेर पनि आवेदन दिनसक्ने प्राधिकरणले जनाएको छ ।

आन्तरिक प्रतिस्पर्धाबाट १३४ जना पदपूर्ति हुने

त्यसैगरी प्राधिकरणमा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदमा १३४ जना कर्मचारी पदपूर्ति हुने भएको छ । प्राधिकरणले आन्तरिक प्रतिस्पर्धाबाट जुनियर मिस्त्रीदेखि प्रबन्धकसम्मको रिक्त पद पूर्ति गर्न लागेको हो ।

जसअनुसार १० तहको एक, ९ तहको २, ८ तहको एक, ७ तहको ४, ६ तहको ३५, ५ तहको ३४, ४ तहको १८ र ३ तहको ३९ रिक्त पद आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ ।  प्राधिकरणका अनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अबको २१ दिन अर्थात असोज ८ सम्म आवेदन पेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।