एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको छ : अर्थमन्त्री शर्मा

0
Shares

अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेटवार्ता गरेकी छन।

अर्थ मन्त्रालयमा शनिबार भएको भेटमा उनीहरूबीच आयोजनाको समग्र पक्षकाबारेमा छलफल भएको थियो । भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको बताए ।

अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको छ ।” सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरिन ।

उपाध्यक्ष फतिमाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार भेटवार्ता गरेको थियो ।

यस्तै, बिहिबार नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का शीर्ष नेतासँग भेटवार्ता गरेको थियो ।

छलफलका क्रममा अधिकांश नेताले एमसिसीका सम्बन्धमा देखिएका विवाद सम्बोधन गर्न र केही बुँदा संशोधन गर्न आग्रह गरेका छन् । एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट १३ अर्ब लगानी हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।