दशैँका लागि ३५ अर्ब बराबरका नयाँ नोट बजारमा, असोज ४ गतेबाट वितरण

0
Shares

नेपाल राष्ट्र बैंकले यो वर्षको दशैँमा ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाउने भएको छ । केन्द्रिय बैंकले यहि असोज ४ गतेबाट नयाँ नोट साट्ने व्यवस्था समेत गरिसकेको छ ।

राष्ट्र बैंकका अनुसार असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गर्नेछ । राष्ट्र बैंकले ४ गतेदेखि नै नयाँ नोट बाँडे पनि अन्य बैंकतथा वित्तीय संस्थाले दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्ने भएका छन् ।

काठमाडौं उपत्यकाभित्र वाणिज्य बैंक र तिनका शाखामार्फत नयाँ नोट सटही सुविधा दिइने भएको छ । उपत्यका बाहिरका लागि भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय र वाणिज्य बैंकबीचको समन्वयमा नोट सटहीको समय तोकिने जनाइएको छ ।

यो वर्ष राष्ट्र बैंकले करिब ३५ अर्ब रुपैयाँ नयाँ तथा सुकिला नोट वितरण हुने अनुमान गरेको छ । दशैँ र तिहारका अवसरमा हरेक वर्ष औसतमा ५० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणको हात हातमा पुग्छ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।

राष्ट्र बैंकले यसपालि पनि ५० अर्ब बढीका नयाँ नोट सटहीका लागि व्यवस्था गरिसकेको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म सटही सुविधा पाइनेछ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँका प्रतिबन्डलसम्म सटही हुने गरी यो सुविधा मिलाएको जनाएको छ ।

दसैँमा नयाँ नोटको वितरणसँगै चलनचल्तीको मुद्रामा करिब दुई खर्बले वृद्धि हुने राष्ट्र बैंकको अनुमान छ । गत वर्षको यसै अवधिसम्म ५ अर्ब ३१ अर्ब रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेका थिए । राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्ने गरेको छ । बजारमा नोटको माग बढेअनुसार यस्तो खर्च पनि बर्षेनी बढ्ने गरेको राष्ट्र बैंकको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।