विश्व बैंकले 'डुइङ बिजनेस’ रिर्पोट प्रकाशन नगर्ने, तथ्याङ्क तोडमोड भएको निष्कर्ष

विश्व बैंकले 'डुइङ बिजनेस’ रिर्पोट प्रकाशन नगर्ने, तथ्याङ्क तोडमोड भएको निष्कर्ष

अघिल्ला दुई प्रतिवेदनमा तथ्याङ्क नै तोडमोड भएको निष्कर्ष निकाल्दै विश्व बैङ्कले अबदेखि ‘डुइङ बिजनेस’ प्रतिवेदन प्रकाशन नगर्ने भएको छ ।

विश्वभरका प्रायः सबै देशको आर्थिक तथा व्यावसायिक सूचक समेटेर प्रकाशित गरिने उक्त प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठेपछि बैङ्कले प्रकाशन स्थगित गरेको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै बैङ्कले डुइङ बिजनेससँग सम्बन्धित सम्पूर्ण सूचना, विगतका समीक्षा, लेखापरीक्षणका आधारमा विश्व बैङ्क समूह व्यवस्थापनले यस्तो निर्णय गरेको उल्लेख गरेको छ ।

खासगरी विश्व बैङ्कले सन् २०१८ र २०२० मा प्रकाशित गरेको डुइङ बिजनेस प्रतिवेदनमा तथ्याङ्क तोडमोडको आरोप लागेको थियो । सोही आरोपमाथि आन्तरिक अनुसन्धान गर्दै विश्व बैङ्कले अर्को प्रतिवेदन प्रकाशनमा रोक लगाउने निर्णय गरेको हो ।

यससँगै बैङ्कले प्रतिवेदनहरूको शृङ्खलाबद्ध समीक्षा र प्रयुक्त विधिको परीक्षणसमेत सुरु गरेको जनाएको छ । आन्तरिक अनुसन्धानले बैङ्कको बोर्डका पूर्वअधिकृतहरू र कर्मचारीहरूमाथि समेत नैतिक प्रश्न उठाएपछि बैङ्क व्यवस्थापनले आन्तरिक जवाफदेहिता संरचनामा पनि आरोप लगाएको थियो ।

नेपालले पनि सन् २०१९ मा प्रकाशित डुइङ बिजनेस प्रतिवेदनको तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्न उठाएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले कर बुझाउँदाका सामान्य प्रक्रियालाई आधार बनाएर प्रतिवेदनमा नेपालको स्थान १०५ बाट ११० स्थानमा झारिएकामा आपत्ति जनाएका थिए ।

अर्थमन्त्रीको आपत्तिपछि विश्व बैङ्कले त्यसको समीक्षाका लागि एक समूहसमेत नेपाल पठाएको थियो । विश्व बैङ्कले प्रकाशन गर्ने उक्त प्रतिवेदन खासगरी लगानीकर्तालाई आफूले लगानी गर्न खोजेको स्थान पहिचानमा सहयोग पुग्ने किसिमको हुन्थ्यो । प्रतिवेदनकै आधारमा लगानीकर्ताहरू लगानीको निर्णयमा समेत पुग्ने विश्वास गरिन्थ्यो ।

प्रतिवेदनको प्रकाशन रोकिए पनि विश्व बैङ्क समूह विकास र सरकारलाई नीतिगत वातावरण निर्माणमा निजी क्षेत्रको भूमिका बढाउन दृढ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसबाहेक भविष्यमा व्यवसाय र लगानीको वातावरण पहिचान गर्न फरक किसिमले काम अगाडि बढाइने बैङ्कले स्पष्ट पारेको छ ।

बैङ्कले आफ्ना लागि अनुसन्धानमाथिको विश्वास सबैभन्दा महत्वपूर्ण हुने विज्ञप्तिमा उल्लेख गरेको छ । विश्व बैङ्क समूहको अनुसन्धानले देशहरूलाई सही निर्णयमा सघाउने र सरोकारवालालाई आर्थिक तथा सामाजिक सुधारको सटिक मापनमा पनि सहयोग पु¥याउने विज्ञप्तिमा जनाइएको छ । यस्ता अनुसन्धान निजी क्षेत्र, नागरिक समाज, पत्रकार तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई विश्वव्यापी मुद्दा बुझाउन सहयोगी हुने पनि उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ असोज २०७८, आइतबार ११ : ३९ बजे