वाणिज्य विभागको पहलमा ‘सुपर मार्केट’ तथा ‘चेन शप’ ले चाडपर्वमा सुपथ मूल्य पसल चलाउने


देशभरका चेन सुपर मार्केटहरुले चाड पर्वको समयमा उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने भएका छन् । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागको पहलमा चेन सुपर मार्केटहरुले यस्तो अभियान चलाउन लागेका हुन् ।

वाणिज्य विभागले भाटभटेनी, सेल्स बेरी, बिग मार्ट, पे एण्ड के मार्ट लगायतका सबै चेन सुपर मार्केटहरुलाई बोलाएर उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन निर्देशन दिएको  हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईका अनुसार सबै सुपर मार्केटहरुलाई सूपथ मूल्यको सूची तथा सूचना विभिन्न माध्यमबाट सार्वजनिक गर्न विभागले निर्देशन दिएको छ ।

“सबै स्टोरका सञ्चालक तथा प्रतिनिधिहरुलाई बोलाएर सामाजिक उत्तरदायित्व अन्तरगत चाड पर्वका बेला सुपथ मूल्यमा सामान उपलब्ध गराउने सम्बन्धमा छलफल गरेर यस्तो निर्देशन दिइएको हो । विभागको पहलकदमीलाई सबै स्टोरहरुले सकरात्मक रुपमा लिएर तत्काल व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्,” विभाग प्रवक्ता सेढाईले नोटबजारसँग भने ।

न्युन आय भएका आम उपभोक्ताले पनि सुपर मार्केटबाट सुपथ मूल्यमा चाडपर्वको सामान खरिद गर्न सकुन् भन्ने उद्धेश्यले यस्तो पहलकदमी लिइएको विभागले जनाएको छ । सुपर मार्केटहरुले विभागको निर्देशन अनुसार सुपथ मूल्यमा सामान बिक्री गरे नगरेको, सूपथ मूल्यको सूचना तथा मूल्य सूची सार्वजनिक गरे नगरेको अनुगमन गरी अटेर गर्नेलाई कार्वाहीको दायरामा ल्याइने पनि विभागले जनाएको छ ।

मध्यमवर्गीय तथा उच्च आर्थिक अवस्था भएकाहरुले सुपर मार्केटमा सामान खरिद गर्दा मूल्यलाई वास्ता गर्ने गरेका छैनन् । तर न्युन आयस्तरका नागरिकलाई भने सुपर मार्केटबाट सामान खरिद गर्नु उत्सव जस्तै हो । त्यसैले यस्तो वर्गलाई सुपर मार्केटसम्मको पहुँच दिलाउनका लागि विभागले सुपथ मूल्यको अवधारण अघि सारेको विभाग प्रवक्ता सेढाईले बताए ।

“सरकारी तरवरमा चाडपर्व लक्षित सुपथ मूल्य पसलहरु सञ्चालन भईरहेको सन्दर्भमा धेरैभन्दा धेरै स्थानबाट सुपथ मूल्यमा आम उपभोक्ताले सामान किन्न सकुन् भन्ने उद्धेश्यका साथ अभियान सुरु गरेका हौं । यसबाट सामान्य उपभोक्ता लाभान्वित हुने विश्वास विभागको छ,” सेढाईले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका व्यवसायीका छाता संगठनहरुलाई पनि व्यापारिक कृयाकलाप गर्ने सदस्यहरुलाई सुपथ मूल्य पसल सञ्चालन गराउन पत्राचार गरिएको सेढाईले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।