देशव्यापी बजार अनुगमन तिब्र बनाउँदै वाणिज्य विभाग, ढक तराजु अनुगमन अभियान सुरु


चाड पर्वको समय नजिकिएसँगै तौलिएर सामान खरिद गर्दा उपभोक्ता ठगिन थाले पछि वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तिब्र बनाएको छ ।

विभागका महानिर्देशक प्रकाश पौडेलको अग्रसरतामा विभागले नेपाल गुणस्तर तथा नापतौल विभागको संयोजनमा ढक तथा तराजुको अनुगमन अभियान सुरु गरेको हो ।

विभागका अनुसार उपभोक्तालाई कम तौलका सामान बिक्री बितरण हुने क्रम बढे पछि नापतौल तथा गूणस्तर विभागको संयोजनमा साताव्यापी अनुगमनलाई तिब्र बनाइएको हो ।

मंगलबारदेखि अभियानका रुपमा साताव्यापी अनुगमन थालिएको वाणिज्य विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईले जानकारी दिए । उनका अनुसार साताभरी बजार अनुगमनको काम मात्र हुनेछ भने साता पछि अनुगमनका क्रममा भेटिएका कैफियत उपर कार्वाही अघि बढाइनेछ ।

यसका साथै विभागले चाडपर्वको समयमा देशव्यापी अनुगनलाई तिब्र बनाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय बजार अनुगमन समितिको बैठकले प्रदेश तथा स्थानीय तहलाई आआफ्नो ठाउँबाट बजार अनुमनलाई तिब्र बनाउन पत्राचार गर्ने निर्णय गरेको हो ।

साथै विभागले गृह मन्त्रालयसँगको समन्वयमा ७७ जिल्लाका सहायक प्रमुख जिल्ला अघिकारीहरुलाई चाडपर्व केन्द्रीत भएर बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएको विभागका निर्देशक एवं प्रवक्ता सेढाईले बताए ।

विभाग मातहतका बिराटनगर, विरगंज, भौरहवा, नेपालगञ्ज र धनगडी कार्यालयलाई पनि प्रभावकारी रुपमा बजार अनुगमन गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।