साहस ऊर्जाको ७० लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम

0
Shares

साहस ऊर्जा लिमिटेडले असोन ६ गते देखि सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयरमा आवेदन दिन आइतबार अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको हो ।
निष्काशित शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले असोज १० गते आइतबार कार्यालय समयभित्र आवेदन दिन पाउनेछन् ।

कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

साहस उर्जाको आइपीओमा १७ लाख बढीले गरे आवेदन

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी तीन अर्ब पचास करोडको प्रतिशेयर एक सय अङ्कित दरले हुने तीन करोड पचास लाख कित्ता शेयरमध्ये ३० प्रतिशत अर्थात् एक करोड पाँच लाख कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । सोअनुसार प्रतिशेयर एक सय अङ्कित मूल्यको ३५ लाख कित्ता साधारण शेयर गत साउन २९ देखि भदौ २७ सम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्काशन गरिएको थियो जसको बाँडफाँड समेत भइसकेको छ ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। स्थानियलाई ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।