नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

0
Shares

विश्व बैंकले सन २०२१/२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने प्रक्षेपण गरेको छ ।

कोभिड १९ का कारण खस्किएको अर्थतन्त्र पुर्नस्थापनाको क्रम जारी रहेकाले गत आर्थिक वर्षमा १.८ प्रतिशत रहेको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा बढेर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण छ ।

विश्व बैंकका अनुसार सन २०२२/२३ मा नेपालको आर्थिक आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने अनुमान छ । कोभिड विरुद्धको खोप अभियानका साथै आर्थिक गतिविधिहरुमा आएको बढोत्तरीले अर्थतन्त्र सुधारन्मुख रहेको उल्लेख गरेको छ ।

गत असारपछि लकडाउन खुला हुँदै गएको र यस वर्ष आर्थिक गतिविधि पनि वृद्धि भएका कारण चालू आर्थिक वर्षमा ३.९ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण विश्व बैंकको छ ।

गत आर्थिक वर्षमा ०७७/७८ मा नेपालको आर्थिक वृद्धि १.८ प्रतिशत मात्रै भएको छ । जुन सरकारले प्रक्षेपण गरेको भन्दा कम हो । केन्द्रीय तथ्यांक विभागले गत आवमा ४.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतले नकारात्मक हुन पुगेको थियो ।

सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । चालू आर्थिक वर्ष २०७८/७९ का लागि एडीबीले ४.१ प्रतिशत वृद्धिदर प्रक्षेपण गरेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन अनुसार दक्षिण एशियाको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने अनुमान गरिएको छ । सबैभन्दा धेरै माल्दिभ्सको ११ प्रतिशत हुने विश्व बैंकले जनाएको छ । त्यस्तै भारतको ७.५ प्रतिशत, बंगलादेशको ६.४, नोपलको ३.९, भुटानको ३.६, पाकिस्तानको ३.४ र सबैभन्दा कम श्रृलंकाको २.१ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।