यो रमाइलो दशैंको बेलामा … कलंकीमा घर जानेको लर्को


बडादशैंको छैठौं दिन सोमबार कलंकीमा घर फर्किनेको भीड लागेको छ । दशैं सुरु भएदेखि नै राजधानीका कलंकी, जडीबुटी लगायतका नाकाहरुबाट राजधानी छाड्नेहरुको चाप दैनिक बढिरहेको छ ।

धेरैजसो सर्वसाधारण सोमबार र मंगलबार राजधानीबाट बाहिरिँदै छन् । यस क्रममा कलंकी चोक आसपासका साथै बाहिरिने सडकको किनारमा हजारौं सर्वसाधारण आफ्नो गन्तव्यमा जाने सवारी साधनको प्रतिक्षामा देखिन्थे ।

बसको टिकट बुकिङ प्रणाली व्यवस्थित नहुँदा विगतमा जस्तै यस पटक पनि टिकट लिएका सर्वसाधारणले सास्ती खेपिरहेका छन् । बुकिङ भए पनि यातायात व्यवसायीले सो अनुसार सिट तथा बसको प्रबन्ध मिलाएका छैनन् । जसका कारण धेरैजसो यात्रु समयमा नै कलंकी पुगे पनि बुकिङ अनुसारको बस तथा सिट पाउन सकिरहेका छैनन् ।

“जसरी पनि घर त जानै पर्यो, यस्तै बेलामा हो गाडीवालाहरुले फसाउने । बिहान सात बजे आएको, २ घण्टा बित्दा समेत कुन बसमा कसरी लैजाने हो अत्तोपत्तो छैन,” बसको पर्खाइमा रहेका एक यात्रीले भने ।

गत वर्षलाई छाडेर हेर्दा दशैंमा ३० लाख हाराहारीले राजधानी छाड्ने गरेका थिए । यस क्रममा नियमित सञ्चालनमा रहेका बससँगै व्यवसायीहरुले अस्थायी बसबाट पनि यात्रु ओसार्दै आएका छन् । यसरी अस्थायी व्यवस्थापनका दौरान छोटो दूरीमा चल्ने कमजोर अवस्थाका सवारी साधनको प्रयोग अधिक हुने गरेको छ । जसका कारण यात्रु असुरक्षित बनिरहेका छन् भने गन्तव्यमा नपुग्दै सवारी साधनमा समस्या आउँदा कतिपय अलपत्र समेत पर्ने गरेका छन् । यस पटक पनि यो अवस्था उस्तै रहेको देखिन्छ ।

यस पटकको दशैंमा पनि २० लाखभन्दा बढीले राजधानी छाडेको अनुमान गरिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।