चलनचल्तीको मुद्रा ७ खर्ब २५ अर्ब पुग्यो, यो दशैंमा ५० अर्बका नयाँ नोट साटिए

0
Shares

नेपाल राष्ट्र बैंकका अनुसार चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । यो बर्षको दशैंका लागि ५० अर्बको नोट बाहिरिएपछि चलनचल्तीको मुद्रा बढेको हो ।

गत भदौ अन्तिम साता चलनचल्तीमा रहेको मुद्रा करिब ६ खर्ब ७५ अर्ब रुपैयाँ थियो । यस वर्षको दशैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको हो ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले ५ देखि सय रुपैयाँसम्मका१३ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थाले ५ सय र हजार दरका गरी करिब ३७ अर्ब रुपैयाँका नोट साटेका छन । यो वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो ।

बैंक तथा वित्तीय संस्थालाई भने २ करोडदेखि ५ करोड रुपैयाँसम्मको सटही सुविधा दिएको थियो । सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिँदै आएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि बैंक तथा वित्तीय संस्था र असोज ४ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन सुरु गरेको थियो । गत सोमबारदेखि यो सेवा बन्द भएको छ । राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।