साउनमा झै कार्तिकको अविरल वर्षाले पाकेको धानबाली सखाप, चिन्तामा किसान

0
Shares

आइतबार रातिदेखि परेको लगातारको कात्तिके झरीको अविरल वर्षाका कारण तराईका अधिकांश जिल्लामा पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ ।

साउनमा झै लगातारको वर्षाले तराइका जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा क्षति पु¥याएको छ । अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आइनसकेको जनाइएको छ ।

कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । दशैँअघि नै तराइका धेरै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दशैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । तर दशैं सकिन नपाउँदै लगातार पानी परेपछि वर्षभरीको कमाई भित्र्याउने समयमा आएर किसान मर्कामा परेका छन् । दशैँ टीका लगाएर किसानहरुले धान काट्न सुरु गरेका थिए ।

पानीले खेतबारीका धानसँगै तोरी अन्य बाली साथै तरकारीमा समेत क्षति पु¥याएको किसानले बताएका छन् । सर्लाहीको वागमती, हरिओन, बरहथवा, हरिपुर, लालबन्दी लगायतका नगरपालिकाहरुमा यतिबेला किसानहरुलाई धान काट्ने तथा भित्र्याउने चटारो छ । तर यहि बेला काटेको धान खेतबारीमै उम्रने अवस्था आएपछि किसानहरु चिन्तित देखिएका छन् ।

दशैंसँगै सर्लाही सहित तराइका अधिकांश जिल्लाका किसानहरुलाई यतिबेला धान काट्ने र भित्र्याउने चटारो छ । तर दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण किसान मर्कामा परेका छन् । गत वर्षको तुलनामा यस वर्ष धानमा किरा नलाग्दा किसानहरु पनि खुसी नै देखिएका थिए । तर महान चाड दशैं सकिए लगत्तै किसानहरु धान काट्न तथा भित्र्याउने तरखरमा थिए । कार्तिकमा पनि बर्खा जस्तै झरी परेकाले हावाहुरी चलेर पाकिसकेको धानबाली लडाउने वा कुहिने हो कि भन्ने चिन्ताले अधिकांश किसानलाई सताएको छ ।

१५ कठ्ठामा धान बाली लगाएका सर्लाही बागमती नगरपालिकाका केशब उप्रेति भन्छन्, ‘केहि दिन अघि मात्र धान काटेर सक्या थियो । एकैछिनमा दर्कने पानी आएर डुबायो’ केसब भन्छन् , ‘सबै जम्मा गरेर त्रिपाल ओढाउन पनि भ्याइएन, पानी रोकिएको पनि छैन धान त बारिमै उम्रिन्छ अब’

सर्लाहीकै मिना भट्टराईको समस्या पनि उप्रेतिको जस्तै छ । उनी भन्छिन्, ‘गत वर्ष धानमा लागेको किराले निकै कम धान उत्पादन भयो । लकडाउका कारण देखाउँदै मकैले पनि भाउ पाएन । यो वर्ष धान भिजेर खेतमा नै उम्रिने अवस्था भएको छ ।’ उनी सुनाउछिन्,‘ पोहोर त कति किरा लागेर धान नै फलेन । यो वर्ष पनि धान खेतमा नै उम्रिन्छ जस्तो छ । न धान आउने भयो न त पराल नै । पोहोर मकैको भाउ पनि आएन ।’

बरहथवाका मनोज यादव भन्छन्, ‘हामीलाई जुन कुराको डर थियो त्यहि भयो । हिजो हावा हुरी पनि चल्यो, नकाटेको धानमा त्यति ठूलो क्षति नपुगेपनि काटेको धानलाई धेरै असर पुगेको छ ।’

धान उत्पादनमा लागेको लागत सम्म उठाउन नपाउने अवस्था सिर्जना भएपछि अहिले किसानहरु निराश भएका हुन् । अन्नको भण्डारका रुपमा रहेको तराइका जिल्लहरुमा यसरी अन्नहरु नष्ट हुँदै जान थालेपछि झनै नैराश्यता थपिएको छ ।  लगातारको कात्तिके झरीले दाङको घोराही, लमही, भालुवाङ, पश्चिम दाङका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ ।

दाङ दङ्गीशरण गाउँपालिका–३ का ३५ वर्षीय किसान खुशीराम चौधरीले भने, “दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ”, भने । उनले थपे, “यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ, मलको अभाव पनि थिएन । धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो ।”

तुलसीपुर–६ का किसान नन्दु चौधरीले आफूहरूका मात्र नभई धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको बताए । उनले वर्षभरि खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेको समेत बताए ।

त्यस्तै पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ देवीपुरमा काटेर गह्रामा सुकाएको धान अविरल वर्षाले बगाएर लगेको स्थानीय पत्रकार अञ्जना चौधरीले जानकारी दिइन् । उनले आफू पनि दशैँअघि नै धान काट्नका लागि गाउँमा गएको घरपरिवार तथा मजदूरी लगाएर चार दिनसम्म काटेर खेतमा राखेको धान अविरल वर्षापछि आएको बाढीले बगाएर लगेको बताइन् ।

जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पु¥याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार यस वर्ष जिल्लाको कूल ३९ हजार ६०० हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएको छ ।

ज्ञानकेन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णशङ्कर जातका धानको खेती गरेका छन् । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धानको खेती गरिएको बताइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।