एफडीआई आकर्षित गर्न विदेशी विनिमयको फर्वाड, स्वाप र अप्सन मार्केट आवश्यक

0
Shares

नेपालमा प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) भित्राउनका लागि विदेशी विनिमयको प्रभावकारी फर्वाड, स्वाप र अप्सन मार्केट आवश्यक रहेको अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार विकासको क्रममा रहेकाले पुर्वाधार तथा थप कानुनी व्यवस्थाको आवश्यक छ । नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार विषयमा राष्ट्र बैंकले गरेको अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा पनि गरेको छ ।

सर्वेक्षण नतिजाअनुसार नेपालमा सबै वाणिज्य बैंकहरू फवार्ड मार्केटमा संलग्न रहेको र आधाजसो बैंकहरू स्वाप कारोबारमा संलग्न रहेको देखिएको छ । सर्वेक्षणमा सहभागी ८१ उत्तरदाता गैरवित्तीय फर्महरू मध्ये १४.८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेको देखिन्छ । यसमध्ये अधिकांश स्टिल तथा धातु उत्पादक फर्महरू रहेको अध्ययनले देखाएको छ ।

दैनिक कारोबारमा विदेशी विनिमय जोखिम नरहेको भन्ने फर्महरू ३७ प्रतिशत रहेको र विदेशी विनिमय जोखिम रहेको भन्ने बाँकी फर्महरूमध्ये ५२.९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारीको अभाव रहेको अध्ययनले देखाएको छ ।

तरलता, बजार सहभागिता, कानुनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा हेर्दा नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा नै रहेको अध्ययनको निष्कर्ष छ । विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानुनी व्यवस्था गरी हालको ओभर द काउन्टर मार्केटलाई अझ सशक्त बनाउँदै हेजिङलाई सहजता प्रदान गर्न र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न लङग टर्म फर्वाड, स्वप र अप्सन मार्केटलाई प्रवद्र्धन गर्नुपर्ने अध्ययनले देखाएको छ ।

डेरिभेटिभ उपकरणसम्बन्धी कानुनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थिति बारेमा समेत अध्ययनले विश्लेषण गरेको छ । अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाका बारेमा पनि छोटकरीमा विश्लेषण गरेको छ । सार्क मुलुकहरूमध्ये भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कामा विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।