लक्ष्मी बैंकको आम्दानीको स्रोत बढ्दा ७७ प्रतिशतले बढ्यो खुद नाफा

0
Shares

लक्ष्मी बैंक लिमिटेड (LBL) को आम्दानीको सबैजसो स्रोतहरुबाट हुने कमाई बढ्दा बैंकको खुद नाफा ७७ प्रतिशतले बढेको छ ।

सोमबार सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा चालु आवको यसै अवधिमा खुद ब्याज आम्दानी, फि कमिसन आय, नेट ट्रेडिङ र अन्य सञ्चालन आय बढ्दा बैंकको अधिकांश सूचकसँग खुद नाफामा समेत आकर्षक बढोत्तरी भएको हो ।

बैंकले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ५५ करोड २८ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.९९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३१ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ७.९५ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २०.६८ रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १२.७३ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३० करोड ९८ लाख ८५ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ११.५९ प्रतिशत मात्र लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ । बैंकको शेयरधनी कोषमा कुल २ अर्ब ३ करोड ३० लाख ७८ हजार सञ्चित छ ।

सोमबार सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब १७ अर्ब ९३ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब १४ अर्ब ७४ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ८९ करोड १७ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ७७ करोड ३२ लाख ४ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १० अर्ब ६९ करोड ५६ लाख ९० हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २९ करोड ७१ लाख र शेयरधनी कोषमा १ अर्ब ७७ करोड १५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष २.५१ प्रतिशतले घट्दा शेयरधनी कोष २.८० प्रतिशतले बढेको छ । यस्तै निक्षेप संकलन २.९१, कर्जा लगानी ८.२३, खुद ब्याज आम्दानी १६.९७ र सञ्चालन नाफा ७२.५९ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ०.४९ प्रतिशत, कोषको लागत ५.३९, आधार ब्याजदर ७.५७, स्पेडदर ३.००, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.९४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५६.७४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.९६ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।