तरलता व्यवस्थापन लागि सोमबार मात्रै ४४ अर्ब ‘एसएलएफ’ प्रदान, २० अर्बको रिपो आउँदै

0
Shares

नेपाल राष्ट्र बैंकले कात्तिक २५ गते बिहीबार २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।

बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक वित्तीय संस्थाले भाग लिन पाउने बैंकले जनाएको छ ।

तरलता अभावले बैंक तथा वित्तीय संस्थामा निक्षेपको चाप परेको देखिन्छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने अवस्थाका व्यवस्थापनमा समेत बैंकलाई अप्ठेरो परेको देखिन्छ ।

सोमबार मात्रै नेपाल राष्ट्र बैंकले बैंक÷वित्तीय संस्थालाइ २१ पटक गरेर ४४ अर्ब १० करोड स्थायी तरलता सुविधा एसएलएफ प्रदान गरेको छ । त्यसैगरी केन्द्रीय बैंकबाट बैंक तथा वित्तीय संस्थाले सोमबार मात्र १ अर्ब २० करोड रुपैयाँ बरावरको ओभरनाइट रिपो सुविधा उपभोग गरेका छन् ।

बैंकिंङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएपछि चालु आर्थिक वर्षको कार्तिक २२ गतेसम्ममा बैंकहरुले १३ खर्ब ९ अर्ब ५६ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत रकम उठाएका छन् । बैंकहरुले ६३५ पटकमा यो रकम उठाएका हुन् । यस्तै बैंकहरुले १०८ पटकमा ४४ अर्ब ८२ करोड रुपैयाँ ओभरनाइट रिपो उपयोग गरेका छन् ।

चालु आवको कार्तिक २२ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा ४७ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रेहको छ भने वाणिज्य बैंकहरुमा ४२ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप छ । यस अवधिमा कुल ४५ खर्ब २७ अर्ब कर्जा लगानी भएको छ । यसवअधिमा वाणिज्य बैंकहरुले ४० खर्ब २२ अर्ब कर्जा लगानी गरेका छन् । अन्तरबैंक दर ४.९६ प्रतिशत तथा सिडी रेसियो ८९.८७ प्रतिशत छ ।

बजारमा नयाँ निक्षेप नआएको र राष्ट्र बैंकले तोकेबमोजिम कर्जा निक्षेप अनुपात कायम गर्नुपर्नेलगायतका समस्याले बैंकले निक्षेपको व्याजसमेत बढाउनु परेको बैकरहरु बताउँछन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको सुरुआतमै निक्षेपमा दुई अङ्कको व्याजदर तोकेका थिए । यसरी बैंक तथा वित्तीय संस्थाले व्याजदर असाधारण रुपमा बढाएको जनाउँदै व्यवस्थित गर्न राष्ट्र बैंकले तीन बुँदे निर्देशन नै जारी गरेको थियो । हाल अधिकांश बैंकले निक्षेपमा अधिकतम ९.३६ प्रतिशत व्याज दिँदै आएका छन् ।

बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपो मार्फत प्रणालिमा तरलता प्रवाह गर्दै आएको छ । तरलताको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुबिधा जस्ता उपकरणको प्रयोग गर्दछन् । केन्द्रीय बैंकको तथ्याङ्कानुसार हाल अन्तरबैंक सापटीको ४.९६ प्रतिशत पुगेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।