राष्ट्र बैंकको स्वायत्तता र बैंक माथिको नियमनमा अर्थविद् शंकर शर्माको प्रश्न


राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष एवं सिटिजन्स बैंकका पुर्व अध्यक्ष प्रा. डा. शंकर शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामा प्रश्न उठाएका छन् ।

नेपाल बैंकर्स संघको ३५ औं वार्षिक साधारण सभामा सम्मानित भएका अर्थविद् शर्माले राष्ट्र बैंक सञ्चालक समितिमा रहेको सरकारको बाहुल्यतामा प्रश्न उठाएका हुन् ।

“नेपाल राष्ट्र बैंक सञ्चालक समितिमा सरकारको बाहुल्यता हुनु कति ठिक हो ? यसमा पुनरबिचार गरी समयानुकुल व्यवस्था गर्दा उचित हु्न्छ,” उनले भने, “सरकारको निर्देशनमा मात्र राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्ने अवस्था कहिलेसम्म कायम रहने हो ? राष्ट्र बैंक स्वायत्त संस्था हो भने उसका काम कार्वाहीलाई पनि स्वायत्त बनाइनु पर्छ ।”

सरकारका नीति, निर्देशन र सुझावको पालना गर्दैमा राष्ट्र बैंकले अरु क्षेत्र हेर्न नसक्ने अवस्था आएको उनको भनाई थियो ।

शर्माले केन्द्रीय बैंकले गर्दै आएको माइक्रो म्यानेजमेण्टका सम्बन्धमा पनि प्रश्न उठाएका छन् । नियामक निकाय भएकै भरमा बैंक वित्तीय संस्थालाई हरेक विषयमा बाध्यात्मक अवस्था बनाउने गरेकोतर्फ उनले असन्तुष्टि व्यक्त गरेका छन् । नियामक निकाय केन्द्रिय बैंकले बैंकहरूको आन्तरिक व्यवस्थापनको काम धेरै गर्ने गरेको भन्दै उनले यो परिपाटीको अन्त्य हुनु पर्नेमा जोड दिए ।

सरकारी स्वामित्वमा सञ्चालनमा रहेका ३ वटा वाणिज्य बैंकको कार्यकौशलता अन्य बैंकको तुलनामा कमजोर रहेको बताउँदै शर्माले सरकारी बैंकलाई प्रतिष्पर्धी बनाउनु पर्नेमा जोड दिए ।

बैंकर्स संघले शर्मालाई बैंकिङ क्षेत्रका साथै समग्र अर्थतन्त्रमा योगदान पुर्वाएको भन्दै सिटिजन्स बैंकको पूर्वअध्यक्षका रुपमा सम्मान गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ