राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगम बीच सम्झौता


राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगम बीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि.कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई निगमको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।

बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५.४१ प्रतिशत रहेको छ । सम्झौता अनुसार निगमका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

बैंकको ७ प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।