टेलिकमको नाफा करिब ४९ प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी कति ?

0
Shares

नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आवको यसै अवधिको तुलनामा ४८.९० प्रतिशतले नाफा बढाएको विवरण सार्वजनिक गरेको छ ।

गत आ. व. को प्रथम त्रैमासिक अवधि अर्थात २०७७ आश्विन मसान्तसम्ममा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार खुद नाफा गरेको कम्पनीले चालु आ. व. को सोही अवधि अर्थात २०७८ आश्विन मसान्तसम्ममा ७४ करोड २१ लाख ३४ हजार अर्थात, ४८.९० प्रतिशतले वृद्धि भई २ अर्ब २५ करोड ९९ लाख ४ हजार खुद नाफा गरेको छ ।

फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएकाले आम्दानी र नाफा बढेको कम्पनीले जनाएको छ ।

यसअवधिमा कम्पनीको सञ्चालन आय १३.२ प्रतिशतले बढेको छ । गत आ. व. को प्रथम त्रैमासिकमा ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार संचालन आय रहेकोमा रहेकोमा चालु आ. व. को सोही अवधिमा ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार पुगेको छ । त्यस्तै कुल आय १० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेकोमा ८.३९ प्रतिशतले वृद्धि भई १० अर्ब ९५ करोड २३ लाख ४६ हजार पुगेको छ ।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४० रुपैयाँ ४७ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिमा १९ रुपैयाँ ७९ पैसा बढेर ६० रुपैयाँ २६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.९६ गुणा रहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।