चर्को महङ्गीमा दैनिक जीवन, राष्ट्र बैंकको तथ्याङ्कमा मूल्य वृद्धि ४.२४ प्रतिशत

0
Shares

सर्वसाधारणको दैनिक जीवन उच्च मूल्य वृद्धिको चपेटामा भएपनि नेपाल राष्ट्र बैंकका अनुसार मुद्रास्फिति ४.२४ प्रतिशत मात्र रहेको छ । दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि अस्वभाविक रहेको सर्वसाधारणहरुको गुनासो रहेको अवस्थामा राष्ट्र बैंकको मूल्य वृद्धिको तथ्याङ्क नमिल्दो देखिएको हो ।

वि.सं. २०७८ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ४.२४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ३.७९ प्रतिशत रहेको थियो ।

चालु आवको असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ४.७२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

वि.सं. २०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु र गैर-मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः ३१.६८ प्रतिशत, ११.९३ प्रतिशत, १०.७१ प्रतिशत, १०.१२ प्रतिशत र ९.६३ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो महिनामा काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१ प्रतिशत, पहाडमा ५.६८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मुद्रास्फिति रहेको छ । वि.सं. २०७७ असोजमा यी क्षेत्रहरुमा क्रमशः ३.३५ प्रतिशत, ४.४६ प्रतिशत, ३.०३ प्रतिशत र ४.३९ प्रतिशत मुद्रास्फिति रहेको थियो ।

२०७८ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फिति ३.८३ प्रतिशत रहेको छ । गत आवको सोही महिनामा यस्तो मुद्रास्फिति ८.२६ प्रतिशत रहेको थियो । चालु आवको असोजमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २.११ प्रतिशत, ४.५५ प्रतिशत र ५.८६ प्रतिशत रहेको छ ।

चालु आवको तेस्रो महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२.३२ प्रतिशत रहेको छ । २०७८ असोजमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ४.९२ प्रतिशतले बढेको छ । गत आवको सोही महिनामा उक्त सूचकाङ्क ०.९२ प्रतिशतले बढेको थियो । चालु आवको असोजसम्ममा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ३.६३ प्रतिशतले बढेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।