‘प्रोफिट बुकिङ्ग’ को दबाबले नेप्सेमा गिरावट, बजारको भविष्य राष्ट्र बैंकको पोल्टामा

0
Shares

पछिल्लो तीन कारोबार दिन लगातार बढेको शेयर बजार परिसूचक नेप्सेमा विहीबार गिरावट आएको छ । अल्पकालिन कारोबारीहरु हाबी हुँदा शेयर बिक्रीमा चाप परेको बजार मौद्रिक नीतिको समिक्षाको पर्खाइमा रहेको छ ।

बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकमको अभाव गहिरिँदै जादा प्रभावीत भएको शेयर बजारमा पछिल्ला तीन कार्यदिनमा लयमा फर्कने प्रयासमा रहेको थियो । तीन कारोबार दिनमा ११२ अंकले बजार बढेपछि अल्पकालिन कारोबारीहरु प्रोफिट बुकिङ्गमा सक्रिय बन्दा बिहीबारको बजार ३२ अंकले ओरालो लागेको छ ।

अर्कातर्फ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गर्ने तयारी गरिरहँदा शेयर लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन । विशेषगरी शेयर बजारका ठूला लगानीकर्ताहरुले शेयर धितो कर्जामा लगाइएको ४ करोड र १२ करोड क्याप संशोधन हुने अपेक्षामा छन ।

साथै बैंकहरुले एक करोड माथिको शेयर धितो कर्जामा केहि कडाई गरिरहेको अवस्था खुकुलो हुने आसा लगानीकर्ताको छ । यतिबेला शेयर लगानीकर्ताहरुको ध्यान राष्ट्र बैंकतर्फ मोडिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा मार्फत लिने नीतिले पनि बजारको भविष्य निर्धारण गर्ने बजार विश्लेषकहरुको भनाई छ ।

तरलता अभावका कारण शेयर कर्जा असहज बन्दै गएको अवस्थामा बचतको ब्याजदरमा एकरुपता ल्याउने नीतिले शेयर कारोबारीलाई एक महिनाका लागि ढुक्क बनाएपनि तरलताको अवस्था सहज गराउन केन्द्रीय बैंकको भुमिका कस्तो रहला भन्नेमा चासो बढ्दो छ ।

विहीबार नेप्से सूचक ३२.३९ अंकले बढेर २७६९.१३ विन्दुमा बन्द भएको छ । यसदिन २२४ कम्पनीका ६ अर्ब २७ करोड १८ लाख रुपैयाँको शेयर किनबेच भयो। यसदिन नेपाल टेलिकमको सबैभन्दा धेरै ६० करोड बराबरको शेयर किनेबेच भयो । 

यस दिन १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जलविद्युत समूहको परिसूचक सर्वाधिक २।८४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार र विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

यस दिन मानुषी लघुवित्त शेयर मूल्य १० प्रतिशतले बढ्दला तेह्रथुम पावर कम्पनीको शेयर पनि सर्किट लेभलमै कारोबार भयो । नारायणी डेभलपमेन्ट बैंक र फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ।

मैलुङ खोला जलविद्युतको शेयरमूल्य यस दिन सर्वाधिक ५ प्रतिशत घटेको छ। त्यसैगरी, शिवश्री हाइड्रोपावर, माउन्टेन इनर्जि हाइड्रोपावर, हिमालयन उर्जा, गुडविल फाइनान्स र माउन्टेन हाइड्रोको शेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी घटेको छ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।