नेपाली सेनालाई वाणिज्य बैंक र विकास बैंकबाट सोझै विदेशी विनिमय सुविधा

0
Shares

नेपाल राष्ट्र बैंकले वाणिज्य र विकास बैंकबाट नेपाली सेनाको शान्ति मिसनलाई सोझै डलर सटही सुविधा उपलब्ध गराउने भएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र ११/२०७६ को दफा १ को पहिलो अनुच्छेदमा संशोधन तथा सोही परिपत्रको दफा १ को शर्त नं. १२ थप गर्दै उक्त सुविधा प्रदान गर्ने भएको हो ।

राष्ट्र बैंकले मंगलबार एकीकृत परिपत्र २०७६ संशोधन गर्दै आफ्ना कार्यालय, विभाग तथा वाणिज्य बैंक, विकास बैंकहरुलाई सेनालाई विनिमय सुविधा प्रदान गर्न निर्देशन दिएको छ ।

यसअनुसार नेपाली सेनाको हकमा विभिन्न शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम स्थानान्तरण समेतको लागि विदेशी मुद्राको सटही सुविधा माग गरेमा शर्तहरुको अधीनमा रही राष्ट्र बैंक, बैंकिङ विभाग, सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, इजाजतपत्रप्राप्त क वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका ख वर्गका विकास बैंकहरुबाट सोझै त्यस्तो सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

नेपाली सेनाको हकमा विभिन्न शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम बैंकिङ उपकरण।प्रणालीमार्फत स्थानान्तरण गर्नुपर्दा सो पुष्टि हुने कागजातका आधारमा सटही सुविधा प्रदान गर्दा शर्त १ देखि ११ सम्मका व्यवस्थाहरु लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार नेपाल सेनाबाट अनुरोध भई आएमा बैंक खाता सञ्चालन नहुने।नभएको शान्ति मिसनमा तैनाथ रहेका मुलुकहरुका लागि त्यस्तो सटही सुविधा नगदमा समेत उपलब्ध गराउन कुनै बाधा नपर्ने परिपत्रमा उल्लेख छ ।

यसअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट कुनैपनि प्रयोजनको लागि विदेशी मुद्राको सटही सुविधा माग भई आएमा उक्त निकायको माग अनुसारको रकम विदेशमा भुक्तानी पठाउने प्रयोजनको लागि (भुक्तानी माध्यमसमेत) नेपाल राष्ट्र बैंक, बैंकिङ्ग कार्यालय मार्फत मात्र सोझै सटही प्रदान गर्न सकिने व्यवस्था थियो । हाल शान्ति मिसनलाई भने वाणिज्य बैंक तथा विकास बैंकबाटै सोझै डलर सटही सुविधा उपलब्ध गराउन निर्देशन दिइएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।