बैंकहरुद्धारा मंगलबार ५३ अर्बको स्थायी तरलता सुविधा प्रयोग


बैंकिङ प्रणालीमा तरलता अभावको समस्या जटिल बन्दै गएको छ । बैंकहरुले दैनिक तरलता व्यवस्थापन कै लागि आधा खर्ब भन्दा धेरैको स्थायी तरलता सुविधा प्रयोग गर्न थालेका हुन् ।

बैंक वित्तीय संस्थामा नयाँ निक्षेप नआउँदा तरलता अभावको जटिल बन्दै गएको छ भने कर्जा लगानी योग्य रकमको पनि संकट देखिन थालेको छ । बैंकहरुले कर्जा ठप्प पारेको भएपनि दैनिक तरलता व्यवस्थापनका लागि भने नेपाल राष्ट्र बैंकबाट ५ प्रतिशतदरको सापट प्रयोग दैनिक रुपमा बढाउँदै गएका छन् ।

बै.कहरुले तरलता व्यवस्थापनका लागि अन्तर बैंक कारोबार गर्न छोडेको नै महिनौ भैसकेको छ । अन्तर बैंक कारोबारमा लिने मात्र बैंकहरु भएपछि नेपाल राष्ट्र बैंकले प्रदान गर्ने स्थायी तरलता सुविधा तर्फ बैंक वित्तीय संस्थाहरु लागेका हुन् ।

बैंकहरुले उच्च दरमा राष्ट्र बैंकबाट सापट लिई केन्द्रीय बैंककै व्यवस्थाहरुलाई पालना गर्दै आएका हुन् । बैंक वित्तीय संस्थाहरुले अनिवार्य नगद मौज्दात कायम गर्नका लागि मंगलबार मात्र ५२ अर्ब ८० करोड रुपैयाँ बरावरको स्थायी तरलता सुविधा प्रयोग गरेका छन् । मंगलबार ३० कारोबार मार्फत सो रकम प्रयोग गरेका हुन । यो कारोबार संख्या हालसम्मकै उच्च हो ।

मंगलबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल १७ खर्ब ३९ अर्ब ३७ करोड रुपैयाँ बरावरको स्थायी तरलता सुविधा प्रयोग गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।