बिहीबार २० अर्बको रिपो जारी हुँदै

0
Shares

बैंकिङ्ग प्रणालीमा तरलताको अभाव गहिरिएपछि त्यसको सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ्ग प्रणालीमा २० अर्ब रुपैयाँ पठाउने भएको छ ।  केन्द्रीय बैंकले मंसिर ९ गते, बिहीबार १४ दिने अवधिका लागि २० अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल मार्फत जारी गर्ने भएको हो ।

मंसिर २३ गते परिपक्क हुने उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले बिहीबार दिउँसो २ बजेसम्म बिडिङ मार्फत लगानी गर्न पाउनेछन् ।

केन्द्रीय बैंकले बजारमा तरलता अपुग भएको बेला रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ । रिपो जारी गर्दा बैंकहरुले आफूसँग भएको सरकारी ऋणपत्र धितो राखेर केन्द्रीय बैंकबाट कर्जा लिन पाउँछन् । त्यस्तै रिभर्स रिपो भनेको त्यसको उल्टो आफूले राष्ट्र बैंकलाई ऋण दिन्छन् । बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलतालाई प्रसोचन गर्न रिभर्स रिपो उपयोग गर्ने गर्दछ ।

गत साउनदेखि नै बैंकिङ्ग प्रणालीमा निक्षेप रकमको वृद्धि सुस्त देखिएको छ । यस अवधिमा ६८ अर्बको निक्षेप बढ्दा बैंक तथा वित्तीय संस्थाहरुमा आएको ऋणको उच्च माग सम्बोधन गर्न ३०० अर्बको कर्जा लगानी भैरहेको छ । निक्षेपभन्दा कर्जाको विस्तार उच्च बन्दा तरलता अधिक भएको हो ।

बैंकमा निक्षेप आउन छाडेपछि बैंकहरुले मंसिर महिनादेखि बचतकर्तालाई दिने निक्षेप ब्याज दर समेत बढाएका छन् । मुद्दती निक्षेपको ब्याजद दश प्रतिशतमाथि पुगेको छ तरपनि बैंकिङ्ग प्रणालीमा निक्षेप भित्रन सकेको छैन । रेमिट्यान्स आप्रवाह घटेर सरकारी खर्च सुस्त बन्दा प्रणालीमा तरलता अभाव छ । बैंकहरुले अन्तरबैंक सापटी पाउन छाडेका छन् भने बुधबार मात्रै राष्ट्र बैंकबाट बैंकहरुले ३० वटा कारोबारबाट ५२ अर्ब ८० करोड रुपैयाँको स्थायी तरलता सुविधा –एसएलएफ) प्रयोग गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।