विदेशी मुद्रा बढाउने गरी आर्थिक स्थायित्वमा केन्द्रित मौद्रिक समीक्षा: उपाध्याय

0
Shares

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासीक समीक्षा सन्तुलित रहेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले बताएका छन् । राष्ट्र बैंकले विदेशी लगानीका लागि थप सहज गर्दै आर्थिक स्थायित्वमा केन्द्रित गर्दै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा ल्याएको बताएका हुन् ।

राष्ट्र बैंक पहिलो त्रैमासिक समीक्षा मार्फत उत्पादन मूलक र प्राथमिकता प्राप्त क्षेत्रलाई विशेष ध्यान दिएको छ । अहिलेको तरलता तथा कर्जा लगानी योग्य रकम अभावका कारणले उत्पादन तथा प्राथमिकता प्राप्त क्षेत्रमा असर नपर्ने गरी त्रैमासिक समीक्षा भएको उनको बुझाई छ । उत्पादनमूलक, पुर्वाधार तथा पर्यटन क्षेत्रका कम्पनीले पनि सिधै विदेशी लगानी ल्याउन सक्ने व्यवस्था गेको बताउँदै उनले भने,“बैंक तथा वित्तीय संस्थालाई पनि परिवत्र्य विदेशी मुद्रामा ऋण लिने व्यवस्थामा समेत थप सहज गर्ने भनिएको छ ।”

पछिल्लो समयमा उच्च आयातका कारण विदेशी विनिमय सञ्चितिमा परेको दबाबलाई ध्यानमा राख्दै आयातमा पनि केही नियन्त्रण गर्न खोजिएको उनको बुझाई छ । पहिलो त्रैमासिक समीक्षा मार्फत चाँदी आयातमा समेत सीमा लगाएको छ । त्यसैगरी अन्य वस्तुहरुको आयातमा पनि विदेशी मुद्रा सटहीको सुविधामा केही कसिलो नीति लिने भएको छ । आगामी दिनमा तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने तथा हालको सीमालाइ समेत नियन्त्रण गरिने संकेत गरेको उनको भनाई छ ।

उपाध्यायका अनुसार पहिलो त्रैमासिक समीक्षा मार्फत नेपाल राष्ट्र बैंकले आर्थिक स्थायीत्वका लागि आन्तरिक उत्पादन बढाउने र प्राथमिकता प्राप्त क्षेत्रलाई जोड दिएको छ । मौद्रिक नीतिको समीक्षाले अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखेको भन्दै उनले आन्तरिक मात्र नभई बाह्य माध्यमबाट पनि स्रोत संकलन गर्न प्रोत्साहन गरेको बताए ।

मौद्रिक नीतिको समीक्षाले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा–निक्षेप अनुपात ९० लाई चलाएको छैन । यसलाई आगामी २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सम्बन्धित संस्थाको सञ्चालक समितिबाट स्वीकृत केन्द्रीय बैंकमा बुझाउनुपर्ने व्यवस्था गरेको छ । यसले बैंक वित्तीय संस्थाका हाल देखिएको कर्जा लगानी योग्य रकम अभावको समस्या तत्काल सहज हुने भने देखिँदैन ।

गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गर्दा स्रोत अभावको समस्या सहज हुने उनी बताउँछन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा समग्रमा आयातलाई नियन्त्रण गर्ने र वैदेशिक ऋण तथा निक्षेप प्रवद्र्धनको नीति लिएको उपाध्यायको ठम्याई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।